लेखकहरूले विदेशी पैसा लिएर किताब लेखेका हुन् ?

लेखकहरूले विदेशी पैसा लिएर किताब लेखेका हुन् ?

काठमाडौं ‘मोहन लामा रुम्बा’ नामको फेसबुक आईडीबाट आइतबार अपरान्ह ६ बजेर ४८ मिनेटमा एउटा पोष्ट भयो । उक्त पोष्टमा ‘यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेखेको’ भन्दै पत्रकार कनकमणि दीक्षित, कुन्द दीक्षित, नारायण वाग्ले, लेखक खगेन्द्र सङ्ग्रौला, युग पाठक, कृष्ण धरावासी, सीमा आभास, अमर न्यौपाने र वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिको तस्वीर राखिएको छ ।

यो समाचार तयार पार्दासम्म यो पोष्ट सात सय ८७ पटक सेयर भएको छ । तीन सय ३९ वटा कमेन्ट छन् भने एक हजार चार सय प्रतिक्रिया छन् ।

रुम्बाले उक्त पोष्टमै माइसंसारमा ९ मे २०१४ मा प्रकाशित एउटा ब्लगको लिङ्क कमेन्टमा पोष्ट गरेका छन् । अमेरिकाले सन् २००६ देखि २००९ सम्म यूएसएडमार्फत सहयोग गरेका विभिन्न देशका संस्थाको सूची सार्वजनिक गरेको थियो । माइसंसारको ब्लगमा सोही सूची राखिएको छ ।

माइसंसारमा यस विषयमा तीनवटा ब्लग प्रकाशित छन् । ती तीनवटै ब्लगमा ‘मोहन लामा रुम्बा’ले पोष्ट गरेका व्यक्तिको नाम भने छैन ।

त्यसो भए वास्तविकता के हो ?

पोष्टमा नाम लेखिएका एकजना लेखक कृष्ण धरावासीले भने २०६५ मा प्रकाशित ‘टुँडाल’ उपन्यास लेख्नका लागि जर्मनीको सहयोगी संस्था जीआईजेडमार्फत लेखनवृत्ति लिएको स्वीकार गरेका छन् । उनले यो कुरा फेसबुक लाइभमार्फत स्वीकार गरेका हुन् । धरावासीसँगै लेखक अमर न्यौपानेले पनि तत्कालीन जीटीजेड (हालः जीआईजेड)मार्फत लेखनवृत्ति लिएर ‘पानीको घाम’ किताब लेखेको बताएका छन् ।

धरावासी भन्छन्, ‘जीटीजेड भन्ने संस्थाको प्रपोजलमा टुँडाल लेखेको हो, जुन २०६५ मा प्रकाशित भएको हो । किताब पढ्नुहोला । १८ पेजमा मेरो भूमिका छ । भूमिकामा किताब किन लेखियो, कसरी लेखियो भनेर लेखेको छु ।’

जीआईजेडले सहरको कथा लेखाउन खोजेपछि आफूले भक्तपुरको कहानी लेख्नका लागि  ‘प्रोपोजल’ हालेको बताएका छन् । प्रोपोजल स्वीकृत भएपछि दुई महिनामा ‘टुँडाल’ लेखेको उनले बताएका छन् ।

यही लेखनवृत्तिमा आधारित रहेर  न्यौपानेले ‘पानीको घाम’ किताब लेखे । उनी भन्छन्, ‘हामीले फेलोसिप पाएर किताब लेखेको कुरा त किताबमै लेखेका छौँफेलोसिप लिएर लेख्ने चलन संसारभर छ । मेरा किताबले यो देशको राष्ट्रियता, स्वाभिमान र समाजमाथि गम्भीर खलल पुगेको भए पो समस्या हुन्थ्यो त !’

यही लेखनवृत्ति पाएर सीमा आभासले ‘टापुका स्वरहरू’ नामको कथा सङ्ग्रह लेखिन् । आभास भन्छिन्, ‘हामीले जे लेखेका छौँ, ती किताबमा प्रष्टै पारिएको छ । किताब बजारमा पाइन्छ । काठमाडौंमा पुतलीसडकका किताब पसलमा पाइन्छन् । त्यो किताबले धर्म, राष्ट्रियता, जातजाति आदिमा खलल पुग्ने कुरा रहेछ भने त पढेर कारबाही गरे भयो त ।’

पैसा खाएको आरोप निराधार भएको बताउँदै आभास थप्छिन्, ‘मैले जे जति लेखेकी छु ती सार्वजनिक छन् । कहीँबाट पैसा खाएको छु भने पनि राज्यले सम्पत्ति विवरण खोज्ला, कानुनी राज छ, कारबाही गरे हुन्छ ।’

पत्रकार कनकमणि दीक्षितले नर्वेजियन दूतावासबाट साउथ एसियन ट्रष्टका नाममा पैसा लिएको विषयमा कान्तिपुर पत्रिकाले ५ वैशाख २०७१ मा समाचार प्रकाशित गरेको थियो । यस विषयमा दीक्षितले त्यतिखेर नै प्रष्टीकरण दिइसकेका छन् । यही विषयमा माइसंसारमा श्रृङ्खलाबद्ध रुपमा ब्लग पनि प्रकाशित भइसकेका छन् ।

वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिको नाम पनि पैसा लिएर किताब लेख्नेहरूको सूची दाबी गरिएको पोष्टमा राखिएको छ । उनी भन्छन्, ‘म ४० वर्षदेखि  कम्युनिष्ट आन्दोलनमा छु । साम्राज्यवादको विरोधमा छु । म कुनै एनजीओ, आईएनजीओमा छैन । यस्ता हल्ला फेसबूकमा भइरहन्छन् ।’

पत्रकार नारायण वाग्ले भने सामाजिक न्याय र परिवर्तनको पक्षमा उभिनेहरूलाई सामाजिक सञ्जालबाट निरन्तर आक्रमण हुन थालेको बताउँछन् । सामाजिक न्याय र परिवर्तनको पक्षमा आवाज उठाउनेहरूलाई निस्तेज पार्न समाजिक सञ्जालमा ‘ट्रोल’ गर्न थालिएको उनको भनाइ छ । पहिला ज्ञानेन्द्रले १९ माघमा सैनिक लगाएर परिवर्तनको आवाज निस्तेज पार्न खोजेका थिए । अहिले सामाजिक सञ्जालबाट यस्तो अभ्यास भइरहेको छ,’ उनले भने ।

नेपालय प्रकाशनगृहबाट प्रकाशित किताबको लेखस्वबाहेक अरु कुनै रकम नलिएको वाग्ले बताउँछन् । ‘मैले किताबका लागि नेपालय प्रकाशन गृहबाट लेखस्वबाहेक अरु कुनै रकम लिएको छैन,’ उनले थपे ।

लेखक युग पाठकले पनि समाजिक सञ्जालमा यस विषयलाई लिएर प्रष्टीकरण लेखेका छन् । उनले आफूले कुनै पनि विदेशी संस्थाबाट पैसा लिएर किताब नलेखेको बताएका छन् । उनी भन्छन्, ‘मेरोसमेत फोटो राखेर किताब लेखेबापत् नर्वेबाट पैसा लिएको कुरो सार्वजनिक गरिएको जानकारी हुन आयो । तर, मेरो हातमा आजसम्म एक पैसो परेको छैन र मलाई यो कुराको कुनै जानकारीसम्म छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved