हलेसीमा तत्काल दमकल पठाउन सदनमा माग

नेपालभ्युज

हलेसीमा तत्काल दमकल पठाउन सदनमा माग

काठमाडौं । आगलागीबाट प्रभावित बनेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दमकल पठाउन प्रतिनिधि सभामा माग भएको छ ।

आइतबार साँझ लागेको आगो निभाउन दमकल नहुँदा समस्या निम्तिएको भन्दै सांसद सरस्वती बजीमयले सरकारले तत्काल दमकल पठाउनु पर्ने माग गरेकी हुन् ।

“यो ठूलो क्षतिबाट बचाउनका लागि सम्पूर्ण समुदायबाट अथक प्रयास भयो, क्षति रोक्न । ग्यास सिलिन्डर फालेर दुर्घटनाबाट जोगाएको छ,” बजीमयले भनिन्, “त्यहाँ दमकलको आवश्यक छ । सरकारले त्यहाँ दमकल पठाउनुपर्छ ।”

आइतबार साँझ सात बजेदेखि स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगलागी नियन्त्रण गर्न दमकल नहुँदा समस्या परेको थियो । हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले ट्रयाक्टरमार्फत पानी बोकेर आगो नियन्त्रण गरिएको थियो ।

छिमेकी पालिका दिक्तेल रुपाकोट मझुवागढीको दमकल पनि बिग्रेको, छिमेकी जिल्ला ओखलढुङ्गाको दमकल चलाउने ड्राइभर नभएकाले आगलागी नियन्त्रणमा ढिलो भएको थियो ।

खोटाङका सांसद रामकुमार राईले आगलागीबाट सात करोड ३० लाख बराबरको क्षति भएको बताएका छन् । थप क्षति हुन नदिएको र आगलागी नियन्त्रण गरेकोमा जनपथ र सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राईले धन्यवाद व्यक्त गरेका थिए ।

सुरक्षा निकायलाई धन्यवाद गर्दागर्दै राईले क्षतिपूर्ति र राहतको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । “त्यहाँको क्षतिपूर्ति र  राहतमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,  त्यहाँ खानेपानीको समस्या छ त्यसको व्यवस्थापन तत्काल गर्नुपर्छ ।” उनले भने ।

अर्का सांसद अशोककुमार चौधरीले आगालागिको घटनालाई ध्यान दिँदै सरकारले भवन संहितामा नीतिगत सुधार गर्नुपर्ने बताए । “हलेसीको घटनाबाट पाठ सिक्दै अब तत्काल प्रभावकारी कदम चाल्नुपर्दछ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु” चौधरीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved