काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसनको आयोजनामा सुरु भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।
युवाहरूलाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने मन्त्री सिंहले बताए ।
‘खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै । तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । अनुशासनको विकासका लागि पनि खेलकुदको धेरै महत्त्व छ, ’ उनले बताए ।
आफ्नो बेलामा कराँतेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए । खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेको भन्दै उनले टी–२० क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।
Facebook Comment
Comment