एसईईको नतिजा सुधार्न १ सय ३२ स्वयंसेवक शिक्षक परिचालन गरिने

नेपालभ्युज

एसईईको नतिजा सुधार्न १ सय ३२ स्वयंसेवक शिक्षक परिचालन गरिने

जनकपुरधाम । मधेस प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइवृद्धि र सिकाइ उपलब्धि हासिल गर्न विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गरिने भएको छ ।

प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार १ सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । जनमत नेतृत्वको मधेस प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको हो ।

गत एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवम् परिमार्जन भएको छैन । जसले गर्दा अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव र विद्यार्थी अनुपातमा शिक्षकको कमी रहेको छ ।
प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।

विद्यालयमा वर्षेनी शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा अङ्ग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा नौ र दशका विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको छ ।

नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले बताइन् ।

उनले एसईईमा मधेस प्रदेशका विद्यार्थीको नतिजा उत्साहजनक नहुने कारणमध्ये शिक्षक दरबन्दी अभाव र शिक्षकको कमी मूल कारण रहेको औंल्याइएको बेला नमुना विद्यालय र शिक्षक आवश्यक भएका विद्यालयमा प्रदेश स्वयंसेवक शिक्षक परिचालन गरिने जानकारी दिइन् ।

सामुदायिक विद्यालयका लागि शिक्षक परिपूर्ति गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएपछि केही योग्य र अनुभवी व्यक्तिले सामान्य रोजगारसमेत पाउने तथा नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved