माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः वर्षमान पुन

नेपालभ्युज

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः वर्षमान पुन

खोटाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताएका हुन् ।

उनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए ।

‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रुपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरुसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

काङ्ग्रेस  र एमालेप्रति जनताको मोह भङ्ग  भएको र विकल्पका रुपमा आफूहरुलाई छान्ने अवस्था बनेको उनको दाबी छ । उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काङ्ग्रेस र एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क  गरे ।

‘०८४ मा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा हामी एक्लै लड्ने छौं, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौं’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौं । करिबकरिब ०६४ को जस्तै उभार देखिन थालेको छ ।’

पुनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा काङ्ग्रेस  र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएको दाबी गरे । ‘हामीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएका छौं’, पुनले भने, ‘काङ्ग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’ मा चलेका कारण हाम्रो बाटो फरक भएको छ ।’

उनले राज्यमा कानून सबैलाई बराबरी हुने भए पनि सत्तापक्षकालाई एक प्रकारको तथा विपक्षी र आमसर्वसाधारणका लागि फरक खालको कानूनको अभ्यासजस्तो देखिएको टिप्पणी  गरे । पुनले प्रधानमन्त्री केपी ओलीको नाम जोडिएका गिरीबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी र स्वीस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको सँगसँगै छानबिन अघि बढाउन माग गरे ।

‘गिरीबन्धु, यति, ओम्नी, स्वीस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौं’, उनले भने, ‘हाम्रो कोही मुछिएको रहेछ भने पर्छ । तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्ने जस्ता कुरा हामी मान्दैनौं । छ भने छानबिन गरे हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved