काठमाडौं । विद्यालय बालबालिकाको दोस्रो घर हो । उनीहरूको दिनचर्याको आधा समय विद्यालयमा शिक्षक शिक्षिकासँग बित्ने गर्छ । छोराछोरी विद्यालय गएपछि सुरक्षित हुन्छन् भन्ने महसुस बुबाआमालाई हुन्छ । तर, के हुन्छ जब बालबालिका विद्यालयमै असुरक्षित बन्छन् ।
तनहुँ जिल्लामा यस्तै एउटा घटना बाहिरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी एक शिक्षिकाले चार जना विद्यार्थीलाई चरम यातना दिएको खुलासा भएको हो ।
गत मङ्गलबार स्कुलकी लेखापाल तथा शिक्षिका रहेकी सुष्मा श्रेष्ठले ती विद्यार्थीलाई तातो पन्युले डामेर चरम यातना दिएकी हुन् ।
विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकाअनुसार ती विद्यार्थी कक्षा ४ मा पढ्छन् । शिक्षिकाले भनेको नमानेको र नाम काढेर बोलाएपछि विद्यार्थीलाई यातना दिएको पाइएको प्रधानाध्यापक श्रेष्ठले बताए । यातना दिने सुष्मा प्रधानाध्यापक कृष्णदेवकै छोरी हुन् ।
होहल्ला गरेको विषयमा पन्युले डामेको सूचना पाएपछि ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
अहिले विद्यालयले पनि उनलाई कारबाही गरेर निकालेको छ । प्रधानाध्यापक श्रेष्ठले भने, “विद्यालयले गर्ने कारबाही गरिसक्यो सरकारको हातमा परिसक्यो । कानुन अनुसारको सजाय हुन्छ । सुश्मा सानो बालकको आमा भएको कारणले गर्दा बालअधिकारको कुरा पनि छ ।”
प्रहरी निरीक्षक अधिकारीकाअनुसार सुष्मालाई जिल्ला सरकारी वकिल कार्यालय तनहुँबाट ५ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
उनलाई बालबालिका सम्बन्धी कसुरमा १ वर्षसम्म कैद सजाय र ५० हजार जरिवाना हुन सक्ने छ । बालबालिकालाई उपचार पछि परिवारको जिम्मा लगाइएको छ ।
भिमाद नगरपालिका वडा नं ६ का वडाध्यक्ष श्याम सुन्दर जोशीले घटना संवेदनशील रहेको बताए । उनले भने, “बालबालिकाको अधिकार हनन् भयो, बच्चाले गल्ती गरे पनि त्यसरी डाम्न हुने थिएन । यो जघन्य अपराध भयो, ४ जनामा एक जनालाई अलि बढी डामेको छ । त्यसको सजाय उनले पाउनुपर्छ । यदि बच्चा नै बढी चकचके र अराजक थियो भने अभिभावक बोलाएर काउन्सिलिङ गर्नुपर्ने थियो ।”
नेपालको प्रचलित कानुन २०७५ को बालबालिकाको हकअधिकार सम्बन्धी कानुनको दफा ६६ को खण्ड ङ मा बालबालिकालाई शारीरिक चोट पटक वा असर पुर्याउने, आतङ्कित पार्ने, धम्काउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्लाउने वा मानसिक पीडा दिनुलाई बालबालिकाविरुद्धको कसुर मानिएको छ ।

यस बमोजिमको कुनै कार्य गरेमा पचास हजार जरिवाना र एक वर्षको कैद सजाय तोकिएको छ । नेपालमा बालबालिकाको हकमा बलिया कानुन भए तापनि बेला–बेलामा यस्ता घटना बाहिर आउने गर्छन् ।
Facebook Comment
Comment