आलेख

महाकुम्भ : कति आस्था, कति पर्यटन ?

सोचौँ त संसारका करोडौँ बौद्धमार्गीमध्ये केही करोडलाई कसरी लुम्बिनी ल्याउने होला ? संसारका प्रकृति पुजकलाई हाम्रो मुन्धुम (मुन्दुम) ट्रेलको यात्रा गराई जीवनको अलौकिक रङ्गसँग साक्षात्कार गराउने कसरी होला ? अथवा, हाम्रा स्वर्गद्वारी, पशुपति, बराहक्षेत्रको पवित्रतासँग मान्छेलाई जोड्ने कसरी होला ? 

महाकुम्भ : कति आस्था, कति पर्यटन ?

१. विषय प्रवेश

आजको मेरो लेख हुनेछ महाकुम्भमाथि । त्यसपछि हुनेछ थोरै मान्छेको आस्थामाथि, थोरै सभ्यताको प्रवर्द्धन र पर्यटनमाथि । नझुक्किनु होला, यो कुनै धार्मिक लेख हैन । यो लेख स्वर्ग र नर्कसँग पनि सम्बन्धित छैन । 

मान्छे मरेपछि कहाँ जान्छ ? मलाई थाहा छैन । नत मलाई नर्कको बारेमा धेरै कुरा थाहा छ, नत स्वर्गको बारेमा । तर, मलाई यति थाहा छ, संसारमा आस्थाको एउटा विशाल संसार छ र त्यो छ निकै गजब ।

यो यस्तो संसार हो, जो प्रमाणमा हैन, विश्वासमा टिकेको छ । विज्ञानमा हैन, आराधनामा टिकेको छ । त्यो यस्तो विश्वास र आराधना हो, जसले मानव सभ्यतामा अनेक रहस्य र रोमाञ्चकता निर्माण गरिदिएको छ । अर्थात, बनाएको छ जीवनभन्दा अलग मनको संसार । आत्मतृप्तिको संसार । आस्था, साधना र रोमाञ्चकताको एक अलौकिक संसार ।

त्यही अलौकिक संसारको एउटा चित्र हो– महाकुम्भ ।

यो लेख लेखिरहँदा, प्रारम्भमै मैले भनेँ स्वर्ग र नर्कलाई म विश्वास गर्दिन । तर, मलाई लाग्छ, मान्छेसँग भौतिक संसारभन्दा पर कल्पनाको अर्को एउटा संसार पनि हुन्छ र मान्छे त्यसमा आआफ्नै पाराले विचरण गर्न पाउनुपर्छ ।

तर, त्यसको एउटा सर्त छ । त्यो के भने, आफ्नो आस्थाको संसारमा रमाइरहँदा मान्छेले अरुको आस्थालाई भने हानी गर्नु हुँदैन, नत घृणा नै गर्न हुन्छ । अन्यथा त्यो हिंसा हुन्छ । त्यो पाखण्ड हुन्छ । निश्चय नै हामीले मान्छेको धर्मलाई सम्मान गर्नुपर्छ । अध्यात्मलाई सम्मान गर्नुपर्छ । तर, धर्मको नाममा कसैले अरुलाई अपमान गर्छ भने, त्यो पाखण्ड हुन्छ र त्यसलाई अस्वीकार गर्नुपर्छ ।

म ठान्दछु, मान्छे नैतिक, पवित्र र करुणाले भरिपूर्ण हुनुपर्छ ।

चाहे व्यक्ति होस् वा समाज, चाहे राजनीति होस् या धर्म, पाखण्ड सदैव त्याज्य हुन्छ । तर, कल्पनाको त्यो अलौकिक संसारमा कतै मानवीय सुगन्ध छ भने त्यो सम्मानयोग्य हुन्छ । यद्यपि, म ठान्दछु मान्छेले मरेपछि मुक्ति पाइने धर्म हैन, यही जीवनलाई सत्मार्ग देखाउने धर्मको पक्ष लिनुपर्छ ।

म स्वयं भने, धर्मका नाममा हुने घृणा, विभाजन र शोषणविरुद्ध, धर्मद्वारा प्रवर्द्धन गरिने करुणा, प्रेम र सद्भावको पक्षमा छु । मेरा लागि धर्म र अध्यात्म जीवनको एक अद्भूत क्रिया हो । मेरा लागि धर्म र अध्यात्म राजनीति होइन, कलापूर्ण जीवनको एक अलौकिक साधना हो ।

२. के हो महाकुम्भ ?

अबलाई, थोरै महाकुम्भमाथि चर्चा गरौँ । सबैलाई थाहा छ, प्रयागराज (इलाहावाद) मा अहिले महाकुम्भ चलिरहेको छ । जसलाई १४४ वर्षपछिको विशेष धार्मिक महोत्सव भनिन्छ । सन् ०२५ जनवरी, १३ देखि प्रारम्भ भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिने छ । ४५ दिन चल्ने छ यो धार्मिक महोत्सवको खास विशेषता के भने यो विश्वकै सबैभन्दा ठूलो मानव जमघट भनिएको छ ।

समाचारअनुसार, महाकुम्भमा पहिलो दिन मात्रै करिब डेढ करोड मानिसले स्नान गरेका थिए ।

यो पटकको महाकुम्भमा ४० करोड मान्छे आउने अनुमान गरिएको छ । जब यो समाचार सुनेँ, म आश्चर्यमा परेँ । एउटा धार्मिक साधनामा ४० करोड मान्छे जम्मा हुन्छन् कसरी ? केले प्रयागराज आउन उत्प्रेरित गर्छ मान्छेलाई ? र, यो विचित्रको धार्मिक उत्सव आयोजन हुन्छ कसरी ?

महाकुम्भमाथिका चर्चा, लेख र वृत्तचित्र हेर्दै गर्दा मैले देखेँ, यो कसैका लागि धार्मिक यज्ञ वा साधना थियो, कसैका लागी थियो परत्र सुधार्ने महान उपक्रम । कोही गङ्गास्नान गरेर स्वर्गमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्थे, कोही आफूले गरेका पाप पखालेर पवित्र हुन चाहन्थे ।

यो यस्तो उत्सव थियो जहाँ पुगेर नागा बाबा, साधु र सन्यासीहरू आफ्नो लिला देखाउन चाहन्थे भने ज्ञानी र ध्यानीहरू मोक्षको खोजी गर्न चाहन्थे । भारत सरकारका लागी यो थियो आफ्नो ‘सफ्ट पावर’ को प्रदर्शन र पार्टीहरूका लागि थियो राजनीति । साधारण स्थानीयका लागि थियो यो विशाल पर्यटन उत्सव ।

मेरो लागि यो के थियो ? जब मैले यसलाई परैबाट नियालेँ मानव सभ्यतालाई उद्देलित गर्ने यो विशाल परिघटना देखेर मेरो मन रोमाञ्चित भयो । नदी, मान्छे र त्यसभित्र निहित अलौकिक सम्बन्ध देखेर म गद्गद् भएँ ।

मान्छेको विशाल पङ्ति जसरी कुम्भमा एकत्रित थियो, त्योसँगै एकीकृत थियो पूर्वीय सभ्यताको अनौठो परिघटना, कथा वा किम्वदन्ती जस्तो । के होला मान्छेलाई एकीकृत गर्ने त्यो डोरी ? त्यो विश्वास (अन्धविश्वास) के होला ? मनमा प्रश्न त आए । तर, म विश्वास र अन्धविश्वासको नापजोखमा लागिन । मात्र एक साक्षी भावले टाढैबाट महाकुम्भलाई हेरेँ ।

मलाई लाग्यो, हाम्रो सभ्यताले रचना गरेको जिउने एक अद्भूत कला हो– महाकुम्भ ।

कसरी सुरु भयो होला यो महाभेला ? थोरै शब्दार्थ र किम्वदन्तीमा जाँऊ । जस्तो ’कुम्भ’ को शाब्दिक अर्थ हो “घडा” । र, यहाँ उल्लेखित घडा त्यही अमृत घडा हो, जो समुद्र मन्थनपछि प्राप्त अमृतले भरिएको थियो ।

यसका दुईवटा किम्वदन्ती छन् । त्यसमध्येको एउटा यस्तो छ । कुनै समय देवता र दैत्यबीच अनेक युद्ध हुन्थे । र, युद्धमा छलबल गरेरै सही प्रायः विजयी हुन्थे देवताहरू । एकपटक महर्षि दुर्वासाको श्रापले जब इन्द्रसहितका देवता कमजोर भए, त्यसै मौकामा दैत्यहरूले आक्रमण गरे । परिणाम देवताहरू परास्त भए ।

जब देवता परास्त भए, देवलोकमा हाहाकार मच्चियो । त्राहि त्राहि भएका देवगण सहयोग माग्न भगवान विष्णुसँग पुगे । भगवान विष्णुले सुझाव दिए कि दैत्यसँग मिलेर क्षीरसागर मन्थन गरी अमृत निकाल । त्यो अमृतमा मृत्युञ्जय शक्ति हुनेछ । र, त्यसलाई पिएपछि देवताहरू अमर हुनेछन् ।

भगवान विष्णुको सल्लाहअनुसार देवता र दैत्यले मिलेर समुद्रमन्थन गरे । समुद्रबाट अमृत निस्कियो । त्यो अमृत कुम्भमा (घडा) भरियो । जब अमृत पहिले कसले पिउने भन्ने हानाथाप सुरु भयो, दैत्यराज बलीको एक सैनिक स्वरभानु घडा खोसेर आकाशतर्फ उड्यो ।

देवराज इन्द्रका छोरा जयन्तसँग पनि आकाशमा उड्ने क्षमता थियो । इन्द्रले जयन्तलाई स्वरभानुबाट अमृत खोस्न आदेश दिए । आकाशमा स्वरभानुजयन्तबीच घडा खोसाखोस हुँदा ४ स्थानमा अमृतको थोपा चुहियो । र, ती ४ स्थानमा कुम्भ स्नान गर्ने प्रचलन प्रारम्भ भयो । ती चार स्थान थिए, भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी र गोदावरी तट । जसलाई आज प्रयागराज, हरिद्वार, उज्जैन र नासिक भनिन्छ ।

शास्त्रअनुसार अमृत प्राप्तिका लागि भएको त्यो युद्ध १२ देव वर्ष चल्यो । त्यसैको सङ्केतमा १२ वटा कुम्भ निर्धारण भए । सनातन धर्मशास्त्रअनुसार, १२ कुम्भ मध्ये, चार कुम्भ पृथ्वीमा र आठ कुम्भ देवलोकमा मनाउन थालियो ।

तर, यो कथनलाई बराहक्षेत्र चतराका जगतगुरु बालसन्तले थोरै संशोधन गरी पृथ्वीमा चार हैन, पाँच कुम्भ आयोजना हुने मतलाई प्रवर्द्धन गरिरहेका छन् । उनको अभिमत छ कि, प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा मात्र हैन, नेपालमा पनि एक कुम्भ आयोजना हुन्छ । र, त्यो स्थान हो, सप्तकोशीको बराहक्षेत्र ।

उनले श्रीमद्स्कन्द महापुराणको हिमाद्रि खण्डको (अध्याय १२, श्लोक सङ्ख्या ३४ देखि ३८ सम्म) व्याख्या गर्दै भनेका छन्– जब भगवान् विष्णुले मोहिनीरूप धारण गरेर देवतालाई अमृत बाँड्न लागे, उनले अमृतघडामा ढपक्क छाली (तर) लागेको देखे ।

अमृतको छाली देखेर भगवान विष्णु लोभिए । र, त्यसलाई शिवलिङ्ग बनाएर उनले एक महिनासम्म कौशिकीमा (सप्तकोशीमा) कुम्भ स्नानगर्दै पूजा अर्चना गरे । एक महिनापछि उनले रुद्राक्षरण्य वनको मध्यभागमा त्यो शिवलिङ्ग स्थापित गरिदिए । त्यो ठाँउ थियो धरानको पिण्डेश्वर धाम ।

बालसन्तकाअनुसार, भगवान विष्णुले कुम्भस्नान गरेको त्यो स्थान थियो कौशिकी नदी, बराहक्षेत्र चतरा । यही किम्वदन्तीलाई आधारमानेर विसं. २०५९ साल वैशाख १ गतेदेखि प्रत्येक १२ वर्षमा एकपटक नेपालमा पनि कुम्भ लगाउन सुरु गरियो ।

ज्योतिषीय गणनाअनुसार जब सूर्य र चन्द्रमा मकर राशिमा र बृहस्पति वृषभ राशिमा प्रवेश गर्छन् तब कुम्भ सुरु हुन्छ । शास्त्रीय मतअनुसार, कुम्भको समय ग्रहहरू जुन स्थितिमा आउँछन् यो बेला गङ्गाको (सप्तकोशीको पनि) जल स्वयं अमृतमय हुन्छ । जसमा स्नानगर्दा मान्छेको तनमन शुद्ध हुन्छ । यही शुद्धिकरणको लोभ र मोक्षका लागि करोडौँ श्रद्धालु कुम्भमा आउँछन् ।

कुम्भ मेलाको प्रचलन १० हजार वर्षअघि सुरु भएको ठानिन्छ । कतिपयले कुम्भ मेला प्रारम्भको जस ८ औं शताब्दीका आदी शङ्कराचार्यलाई दिन्छन् । आदि शङ्कराचार्यले अद्वैत वेदान्तको दर्शनसहित हिन्दुत्व जागरण अभियान सुरु गरेका थिए ।

कतिपय मान्छेहरू यसलाई अन्धविश्वासको मेला ठान्दछन् । त्यही अन्धविश्वास र अव्यवस्थाका कारण कतिपय मान्छेहरू यहाँ अनेक दुर्घटनामा पर्दछन् र मर्दछन् । तर, कोही भन्छन् यो विश्वास र अन्धविश्वासभन्दा माथि हाम्रो सभ्यताको लहर हो । यो यस्तो लहर हो जसले विचित्रको सम्मोहन निर्माण गर्दछ र मान्छेलाई बाँच्ने एक सात्विक कला सिकाउँछ ।

३. रोचक कुराः

कुम्भ तीन प्रकारका छन् । हरेक ६ वर्षमा आउने अर्धकुम्भ । हरेक १२ वर्षमा आउने पूर्णकुम्भ । र, हरेक १४४ वर्षमा आउने महाकुम्भ । यो पटक प्रयागराजमा जुन कुम्भ भइरहेको छ, यो महाकुम्भ हो । तथ्यहरूले भन्छन् – यस अघिको महाकुम्भ सन् १८८२ मा आयोजना भएको थियो ।

यो वर्ष, भारत उत्तरप्रदेशको प्रयागराजमा जहाँ महाकुम्भ भइरहेको छ, त्यो पवित्र नदीहरू गङ्गा, यमुना र सरस्वती (सरस्वती चै विलुप्त भएकी छन्) को सङ्गम हो । हिन्दु किम्वदन्तीअनुसार यहाँ सृष्‍टिकर्ता ब्रह्माले धर्तीको पहिलो यज्ञ गरेका थिए ।

कस्तो छ महाकुम्भको आयोजना ? 

महाकुम्भको आयोजना आफैँमा विशाल छ । यस्तो लाग्छ, यो मानव सभ्यताको सर्वाधिक ठुलो यज्ञ हो । जहाँ आउनका लागि भारत सरकारले थप ९८ रेल सेवा सञ्चालन गरेको छ । जसले मेला अवधिमा ३३०० पटक यात्रा गर्नेछन् ।

भारतीय सञ्चारमाध्यमहरू भन्छन् – यसपटक महाकुम्भमा झन्डै ४० करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ । युनेस्कोले समेत यसलाई सांस्कृतिक सम्पदाको मान्यता दिएको छ । र, यो मानव सागरलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ ।

कुम्भमा नागा साधुहरूले चिसो पानीमा डुबुल्की मारिरहेको दृश्य निकै चाखलाग्दो हुन्छ । सयपत्रीको माला घाँटीमा लगाएका उनीहरू त्रिशूल, तरबार र डमरु बोकेर लामबद्ध हुँदै हिँडेको दृष्य दर्शकहरूका लागि निकै रोमाञ्चक लाग्छ ।

नाङ्गा साधुहरूले खास खास साइतमा गर्ने स्नानलाई ’शाहीस्नान’ भनिन्छ ।

भव्यतम कुरा के छ भने, तीर्थालु र पर्यटकका लागि नदी सङ्गमका आसपासमा ४ हजार हेक्टर क्षेत्रफलमा “पालको शहर“ बनाइएको छ । जहाँ झण्डै एक लाख ६० हजार पाल टाँगिएका छन् । ६५० मिटर लामो अस्थायी बाटो निर्माण गरिएको छ । झन्डै २०० वटा सडक फराकिलो पारिएको छ ।

महाकुम्भ र त्यस क्षेत्रको सुरक्षाका लागि त्यहाँ ४० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । यो लगभग एउटा सानो देशको सुरक्षा व्यवस्था बराबर हो । यसैगरी, प्रयागराजमा १५ हजार सफाइ कर्मचारी क्रियाशील छन् । स्नान क्षेत्रमा ३०० गोताखोर परिचालन गरिएको छ ।

समाचार श्रोतकाअनुसार, एक पटकमा ५ लाख सवारी साधन अट्ने ९९ वटा पार्किङ क्षेत्र बनाइएको छ । यसैगरी कुम्भ स्नानका लागी ३० वटा पन्टून पुल (नाउहरूमाथि बनाइएको विशेष पुल) तयार गरिएको छ । १ लाख ५० हजार शौचालय र २५ हजार फोहोरदानी ठाँउठाँउमा राखिएका छन् ।

महाकुम्भ क्षेत्रलाई उज्यालो र झकिझकाउ बनाउन ६७ हजार वटा स्ट्रिटलाइट जडान गरिएको छ । पिउनका लागि २०० वटा पानीका मेसिन जडान छन् । 

सरकारले कुम्भमेलाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गरेको बताइन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रुपैयाँजति राजस्व सङ्कलन गर्ने छ । र, अनौपचारिक रूपमा झण्डै एकहजार अर्बको कारोबार हुनेछ ।

सजिलोगरी हिसाब गर्दा महाकुम्भका सहभागी हुने ४० करोड मान्छेले २ हजार लगभग (यात्रा, खाना, आवास, भेटी, किनमेल) मात्र खर्च गरेभने पनि त्यो ८ खर्ब हुन्छ । यसले झण्डै दश लाख मान्छेलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिएको बताइन्छ ।

यद्यपि, त्यहाँ जे भइरहेको छ, त्यसलाई नियालेर हेर्दा, कुम्भ धार्मिक पर्वमात्र देखिँदैन । अवश्यै यो धार्मिक र शास्त्रीय मेला हो । तर, सँगै यो भारतका लागि ‘सफ्ट पावर’ राजनीति हो । जहाँ संसारभरका हिन्दु आउँछन् । स्नान गर्दछन् । केही पैसा चढाउँछन् । आफ्नो आस्थाको मुस्कान छर्दै फर्किन्छन् ।

यो सबै गरिरहँदा, भारतभित्र र बाहिर भारत वर्षको एक विशिष्ट मनोविज्ञान र अपनत्व निर्माण हुन्छ र प्रबल हुँदै जान्छ । जो भारत र मोदी सरकार त्यही चाहिरहेको छ । तर, यो त्यतिमात्र हैन, यो धार्मिक पर्यटनको एक अद्भूत उदाहरण हो ।

४. नेपालको कुरा

अव सोचौँ, के नेपालमा पनि कुम्भजस्तै कुनै विशेष सांस्कृतिक उत्सव आयोजना गर्न सम्भव छ ? अवश्य नै हामी धर्मनिरपेक्ष हौँ । भारत पनि धर्मनिरपेक्ष हो । अमेरिका पनि धर्मनिरपेक्ष हो र युरोप पनि । म स्वयं पनि राज्यको कुनै धर्म हुँदैन भन्नेमा विश्वास गर्छु । पार्टीहरूले धर्मको राजनीति गर्न हुँदैन भन्नेमा मेरो अटल मत छ ।

तर, धर्मभन्दा पर हाम्रो मौलिक संस्कृति र सभ्यता छ । आर्य, किरात र बौद्ध दर्शन र अभ्यासबाट पल्लवित सभ्यता । जसले राज्यको एक मौलिक चरित्र निर्माण गर्दछ र हामीलाई अरुभन्दा भिन्न बनाउँछ । त्यसैले नै हामी अमेरिकनभन्दा फरक छौँ, युरोपियनभन्दा फरक छौँ र हामी मौलिक छौँ । यसर्थ नै, हाम्रो सभ्यता, सामाजिक मनोविज्ञान, जीवनपद्धति र बनोट फरक छ ।

जगजाहेर छ कि हरेक सभ्यताका आफ्नै शास्त्र, कथा र किम्वदन्ती हुन्छन् । हरेक सभ्यताका आफ्नै जीवनपद्धति हुन्छन् । त्यसैले त हामी जतिसुकै धर्मनिरपेक्ष भएपनि अमेरिकन जस्तो हुदैनौँ र उनीहरु जतिसुकै धर्मनिरपेक्ष भएपनि हामी जस्तो हुँदैनन् । युरोपियन, अरबियन वा अफ्रिकनमा पनि यही कुरा लागू हुन्छ ।

हाम्रो सामाजिक बनोट र चरित्रमा किरात, बौद्ध र सनातन वैदिक सभ्यताको गहिरो प्रभाव छ । यी तीन चिज हाम्रा लागि यति धेरै महत्त्वपूर्ण छन्, जसले हामीलाई धर्मनिरपेक्ष, उदार र एकीकृत हुन प्रेरित गर्दछन् । कट्टर हुन हैन, उदार हुन । र, त्यसैको एकत्वबाट देश, समाज र व्यक्ति स्वयंको एकत्व निर्माण भएको छ ।

यसरी हेर्दा, आजका दिनमा हाम्रो किरात, बौद्ध, सनातन वैदिक सभ्यता र धर्म पाप र पुण्यभन्दा माथि (स्वर्गनर्कभन्दा पर) जीवनपद्धति भएको छ । र, पछिल्लो समय यो भएको छ आफ्नो सभ्यता देखाउने (धार्मिक सांस्कृतिकसहित) पर्यटनको एक विशाल अवसर । 

यो यसकारणले अवसर हो कि, आजका दिनमा संसारभर धार्मिक पर्यटन चलेको छ । जस्तो उता भ्याटिकन सिटी यात्रा गर्न चाहनेहरू, मक्का र मदिना पुग्न चाहनेहरू र यता मुन्धुमको (मुन्दुम) गीत गाउनेहरू, लुम्बिनीको माटोलाई छुन चाहनेहरू, पशुपतिको दर्शन गर्न चाहनेहरू, सप्तकोशी र पवित्र गङ्गामा स्नान गर्न चाहनेहरू जताततै भेटिन्छन् । तीमध्ये केहीमान्छे यस्ता छन् जो हाम्रो सभ्यतालाई माया गर्दछन् । जसलाई नेपाल ल्याउन सकिन्छ र उनीहरूबाट अर्थोपार्जन पनि सम्भव छ ।

सोचौँ त संसारका करोडौँ बौद्धमार्गीमध्ये केही करोडलाई कसरी लुम्बिनी ल्याउने होला ? संसारका प्रकृति पुजकलाई हाम्रो मुन्धुम (मुन्दुम) ट्रेलको यात्रा गराई जीवनको अलौकिक रङ्गसँग साक्षात्कार गराउने कसरी होला ? अथवा, हाम्रा स्वर्गद्वारी, पशुपति, बराहक्षेत्रको पवित्रतासँग मान्छेलाई जोड्ने कसरी होला ? 

अलिक उदार भएर सोच्ने हो भने, यसो गर्नु अन्धविश्वासको प्रचार होइन्, हाम्रो सभ्यताको प्रवर्द्धन हो । यसो गर्नु हिमवत् खण्डको अलौकिक अस्तित्वको प्रवर्द्धन हो । किनभने, हामीसँग देखाउनलाई हिमाल त छ नै, मौलिक सभ्यता पनि त छ ।

विचार गरौँ त वर्षमा थप केही करोड मान्छे पर्यटनका लागी लुम्बिनी, पशुपति, स्वर्गद्वारी आए या मुन्दुम ट्रेलमा हिँडे भने ? त्यसले सृजना गर्ने रोजगारी । त्यसले चल्ने होटल । त्यसले चलायमान बनाउने अर्थतन्त्र । त्यसले सृजना गर्ने अवसर र आत्मविश्वास । अवश्य नै यो गजब हुनसक्छ ।

अतः समृद्धिको कुरागर्दा धार्मिक तथा सांस्कृतिक पर्यटनलाई नभुलौँ । यो बरदान हुनसक्छ ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved