काठमाडौं । कुनैबेला दशरथ रङ्गशालाको विकल्पका रूपमा प्रचार गरिएको च्यासल खेल मैदान अहिले बगरजस्तै देखिन्छ ।
गएको असोजमा रङ्गशालाको मुख्य प्रवेशद्वारबाट पसेको बाढीले हराभरा मैदान हिलाम्य मात्रै बनेन निकास नहुँदा फोहोरसहितको पानी जमेर घाँस मैदानमा समेत क्षति पुग्यो । प्यारापिटमुनिका चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टरको अवस्था पनि उस्तै बिजोग छ । मैदानमा विद्युत् नहुँदा नजिकैको निजी कारखानाबाट मागेर काम चलाउनु पर्ने अवस्था छ ।
बाढीले क्षतिग्रस्त बनाएको चार महिनासम्म कसैले नदेखेपछि च्यासल युथ क्लबले केही महिनाअघि सरसफाइ सुरु गर्यो । खेलमैदानको हाल मर्मत सुरु त भएको छ तर, बजेट अभावमा कहिले पूरा हुने हो अझै टुङ्गो छैन ।
फाइल फोटो
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रङ्गशालाको विकल्पका रुपमा च्यासल खेल मैदानलाई स्तरोन्नति गर्ने भनेर २०७६ सालमा २८ करोड रुपैयाँ खर्च गरेको थियो । तर, हरेक वर्ष आउने बाढीको चपेटामा पर्ने यो मैदानको दीर्घकालीन संरक्षण त टाढाको कुरा अहिले २ करोड रकम नभएर मर्मतसमेत हुन सकेको छैन ।
“पछिल्लो निरीक्षणअनुसार मैदानका पूर्वाधार मर्मतसम्भारका निम्ति तत्काल २ करोड रुपैयाँ आवश्यक देखिएको” बताउँछन्, राखेप पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुन्दास ।
खेल हुँदा सबैले खोज्ने, संरक्षणमा छैन ध्यान
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भइरहेको बताउँछन् । मैदान मर्मतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सरकारी निकाय कसैले पनि चासो नदेखाउँदा च्यासलको भविष्य नै सङ्कटमा पर्ने हो कि भन्ने उनको चिन्ता छ ।
“च्यासलको लागि एन्फा मौन छ । एन्फाले नदेखेको मैदान रहेछ । खेल हुँदा मात्र चाहिने । अरु बेला नदेख्ने रहेछ,” क्लबका अध्यक्ष व्यञ्जनकारको गुनासो छ ।
बाढीले क्षति पुर्याएको पाँच महिना पुग्नै लाग्दा पनि कसैले ध्यान नदिएपछि च्यासल युथ क्लबले आफ्नै खर्चबाट मर्मत अघि बढाइरहेको तर, सरोकारवाला निकायलाई गुहार्दा पनि सुनुवाइ नभएको उनी बताउँछन् ।
“यो विषयमा कुनै कुरा अगाडि बढेको छैन । एन्फालाई मैले बाढी आयो, क्षति भयो भनेर रिपोर्ट गरेँ । कोषाध्यक्ष, सहायक अरुणमान जोशीलाई पनि देखाएँ । सीईओ इन्द्रमानलाई पनि देखाएँ । उहाँहरूले मात्र बोलेर त भएन,” उनले नेपालभ्युजसँग भने, “गर्नुपर्ने त महासचिव र अध्यक्षले नै हो । उहाँहरूले नदेखेपछि के गर्ने ।”
एन्फाका प्रवक्ता सुरेश शाह आफूले बेवास्ता गरेको नभइ दीर्घकालीन समाधान खोजिरहेको बताउँछन् ।
“हामीले च्यासल मैदानलाई बेवास्ता गरेको होइन । भौतिक संरचनाको संरक्षण गर्न दिगो समाधान चाहिएको छ,” प्रवक्ता शाहले भने, “च्यासल रङ्गशालाको महत्त्व र समस्या बुझेकै कारण तत्काल लगानी मात्रै गर्नुभन्दा पनि दीर्घकालीन समाधान खोजिरहेका हौँ ।”
एन्फाले मात्रै होइन राखेपलाई अनुरोध गर्दासमेत वास्ता नगरेपछि आफैँले सकेजति पहल थालेको क्लबका अध्यक्ष व्यञ्जनकार बताउँछन् । राखेपसँग १० लाख माग गरेको तर, हालसम्म निर्णय नभएको उनको भनाइ छ ।
“आजको दिनसम्म पनि राखेप मौन छ । हामीले यसरी लापरबाही तरिकाले छाड्न सकेनौँ । त्यही भएर हामी आफैँ मर्मतमा लाग्यौँ, ” उनले भने, “राखेपमा सबै प्रक्रिया पूरा गरेका छौँ । फाइल सबै तयार छ । फाइल सदस्य सचिवको सचिवालयमा छ । फाइल थन्केको एक महिना भइसक्यो तर, सदर भएको छैन ।”
राखेपको एउटा अफिस च्यासलमै छ । सोही अफिसको मातहतबाट क्लबले पत्र पठाएको थियो । प्रक्रिया पूरा गर्नुपर्ने भन्दै राखेपले सुरुमा निवेदनमा तोक लगायो, त्यसपछि इस्टमेट पनि भयो । तर, एक महिना भइसक्यो काम अघि बढेको छैन ।
फाइल फोटो
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ च्यासल रङ्गशालाको मर्मतका लागि प्रक्रिया अघि बढाए पनि अर्थमन्त्रालयको काम बाँकी रहेको बताउँछन् । “च्यासल मैदानको मर्मतबारे प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया अघि बढेको छ,” उनले भने, “अर्थ मन्त्रालयतर्फको काम बाँकी छ ।”
मैदानको मर्मत अड्किएकोले ‘बी’ डिभिजनलगायत आगामी खेलको तयारीमै समस्या परेको छ । “अब खेल सुरु हुँदैछन् । एन्फामा यू–१६ को खेल भइरहेको छ । चाइनिज टोलीसँग मैत्रीपूर्ण खेल हुँदैछ । महिलाको ‘फोर नेसन्स कप’ हुँदैछ । फाल्गुन २५ गते ‘बी’ डिभिजन लिग क्लब गर्ने भनिरहेको छ,” व्यञ्जनकारको प्रश्न छ, “खोइ त अभ्यास गर्नलाई मैदान ?”
च्यासल रङ्गशाला ललितपुर महानगरपालिका–९ स्थित मनोहरा खोलाको किनारमा छ । उक्त वडाबाट भने आफूहरूले सहयोग पाइरहेको व्यञ्जनकारले जानकारी दिए । स्थानीय सरोकारवाला सबैको सहयोगमा मात्रै यसको दीर्घकालीन संरक्षण सम्भव हुने उनी बताउँछन् ।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन “अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्ने” बताउँछन् ।
समस्याले थिचिएको मैदान
च्यासल खेल मैदानलाई यो वर्षको बाढीले मात्रै असर गरेको होइन । हरेक वर्ष आउने बाढीले यसलाई केही न केही क्षति पुर्याएकै हुन्छ । यसअघि २०७९ सालको फागुनमा यसको उद्घाटन हुनुअघि साउन महिनामा आएको बाढीबाट मैदान तहसनहस भएको थियो । जसका कारण अनुमानित लागत नै बढेको थियो ।
त्यसबाहेक महानगरले निर्माण गरिरहेको मनोहरा खोलाको करिडोर र बाटोका कारण पनि च्यासलले लामो समयदेखि समस्या भोग्नु परिरहेको छ ।
क्लबका अध्यक्ष व्यञ्जनकारकाअनुसार अहिले भएको बाटोलाई पैदल यात्रीलाई हिँड्नका लागि मात्रै छाडेर अघि बढ्ने विषयमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग छलफल भएको थियो । तर, करिडोर आवश्यक पर्ने हुँदा त्यसको विकल्प के हुने भन्ने अझै निस्किएको छैन ।
बाढीले बगर बनेको च्यासल मैदान
अहिले क्लबले एक पटकमा दुईवटा गाडी मात्रै पास हुने गरी मैदानलाई जोगाउने प्रस्ताव अघि सारेको छ । तर, विकास समितिले त्यसको जवाफ दिएको छैन ।
च्यासलको मैदान एन्फाले नगरपालिकासँग जग्गा लिजमा लिएको निर्माण गरेको हो । करिब ४ करोडभन्दा बढी लगानी गरेर एन्फाले फुटबल प्रोजेक्ट बनाएपछि रङ्गशालाको रूपमा विकास गर्न राखेपले पनि त्यसमा खर्च गरेको थियो ।
मैदानको संरचनामा नै समस्या भएकाले वर्षेनी हुने डुबानको असर भोग्नु परेको छ । यहाँको मुख्य समस्या भनेको काठमाडौंतर्फको बाटोको उचाइ धेरै र ललितपुरतर्फको बाटोको उचाइ कम छ । आजभन्दा १५–२० वर्ष अगाडिको हिसाबले संरचना बनेको छ । जबकि पछिल्लो २ वर्षको सर्भेअनुसार मनोहरा खोला बढेर आउँदा १५ फिट माथिसम्म पानी आएको भेटिन्छ । त्यसो हुँदा च्यासल रङ्गशालाको तल्लो तल्लाका संरचना पूरै डुब्ने गरेका छन् ।
“वार्षिक करिब १५ देखि २० लाख रुपैयाँ फर्निचर तथा अन्य सामग्रीको लागि खर्च हुने गर्छ । कुनै ठोस योजनाबिना त्यहाँ लगानी गरेर कुनै औचित्य देखिँदैन,” एन्फाका प्रवक्ता शाह भन्छन् । समस्या समाधानका लागि ललितपुर महानगरपालिका, राखेप र एन्फाले नयाँ तरिकाबाट दीगो योजना लिएर अघि बढे मात्रै समाधान निस्कने उनको भनाइ छ ।
राखेप सदस्य सचिव घिसिङ कोरिडोरको मापदण्ड र मैदानको संरचनाबारे पटक-पटक उत्पन्न हुने विवादबारे आफूहरूले मात्र गरेर नहुने बताउँछन् । “थप अन्य सरकारी, सरोकारवाला तथा सम्बन्धित निकायसँग पनि समन्वय गर्न आवश्यक पर्छ । त्यसको लागि अध्ययन गर्दैछौँ,” घिसिङको भनाइ छ । यद्यपि, यस प्रक्रियाको लागि कति समय लाग्छ भन्ने विषयमा अहिले नै केही भन्न नसकिने उनी बताउँछन् ।
बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक नारायणप्रसाद भण्डारी च्यासलको अवस्थाबारे अध्ययन भइरहेको बताउँछन् । “दिगो व्यवस्थापनबारे हामीले अध्ययन गरेका छौँ । अब स्थानीय निकाय र खेलकुद परिषद्सँग समन्वय गरेर अगाडि बढ्ने छौँ,” उनले नेपालभ्युजसँग भने ।
मैदानलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बागमती कार्ययोजना बनेको र त्यसले बाढीको प्रकोप न्यूनीकरण गर्ने उनको दाबी छ । “पूरै शहरमा नभई नदीको किनारमा मात्र पुग्ने असरलाई न्यूनीकरण गर्न खोलाको बहावलाई कम गर्न सकिने उपाय पनि योजनामा समेटेका छौँ,” उनले भने ।
च्यासल मैदानलाई एन्फाले २०५९ सालमा टेक्निकल सेन्टरको रूपमा प्रयोगमा ल्याएको थियो । विसं २०७२ को भूकम्पले दशरथ रङ्गशाला क्षतिग्रस्त भएको थियो । यसपश्चात च्यासल मैदानलाई रङ्गशालाको विकल्पको रूपमा निर्माण गर्न सुरु गरिएको थियो ।
राखेपको बजेटमा २०७४ सालदेखि रङ्गशालाको स्तरोन्नतिको काम सुरु भएको थियो । २ वर्षमा सकिने भने पनि ५ वर्षमा रङ्गशालाको निर्माण कार्य सकिएको थियो । मनोहरा करिडोरको मापदण्डका कारण नक्सामा पटक-पटक परिवर्तन गर्दा र वर्षेनी आउने बाढीका कारण म्याद थप्दै निर्माण कार्य ढिला भएको थियो ।
गणेश थापा एन्फा अध्यक्ष हुँदा नेपालमा ३ वटा गोल्ड प्रोजेक्ट आएका थिए । जसमा धरान, बुटवल र च्यासल थिए । तर, अहिले यसैमध्येको मुख्य मैदान भने लगभग अलपत्र बनेको छ । अहिले च्यासल मैदानकै भविष्य अन्योलमा देखिन्छ ।
Facebook Comment
Comment