वैकल्पिक राजनीतिको औचित्य सकिएको छैन, समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी छ : बाबुराम भट्टराई

नेपालभ्युज

वैकल्पिक राजनीतिको औचित्य सकिएको छैन, समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिको औचित्य नसकिएको बताएका छन् ।

पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै संयोजक भट्टराईले वैकल्पिक शक्ति बनाउन नयाँ दलहरूबीच सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

उनले भने, ‘अब पुराना दलबाट यो मुलुक अघि बढ्न सक्दैन । नयाँ र वैकल्पिक शक्तिको औचित्य झन् आवश्यक हुँदै गएको छ । हामीले नै त्यस्तो शक्ति बनाउन सक्छौँ । केही गरी हामीले बनाउन सकेनौँ भने पनि कसै न कसैले त बनाउँछ ।’

भट्टराईले महाधिवेशनमा उपस्थित भएका रास्वपा, जनमत, नाउपा, विवेकशील नेपाली दल लगायतका नेतालाई वैकल्पिक शक्ति बनाउने अभियानमा मिलेर जान प्रस्ताव पनि गरे ।

मुलुकलाई मुख्य तीन दल काङ्ग्रेस, एमाले र माओवादीले बर्बाद बनाएको उनले आरोप लगाए । भट्टराईले भने, ‘पुराना दलका तीनवटा टाउकाले देश बर्बाद बनाए, नागरिकलाई हैरान पारे । सत्तामा हुन्जेल सब राम्रो छ भन्छन्, बाहिर निस्किएपछि सब बिग्रियो भन्दै चिच्याउँछन् । अब यिनीहरूको पछि लागेर समय खेर फाल्नु हुँदैन ।’

उनले मुलुकको समृद्धिका लागि पाँच ‘स’ आवश्यक रहेको बताए । त्यसमध्ये पनि ‘समृद्धि’ सबैभन्दा धेरै आवश्यक रहेको भन्दै उनले त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नै पर्ने बताए ।

भट्टराईले मुलुकको बजेटको ४० प्रतिशतभन्दा धेरै रकम भ्रष्टाचार हुनेको भन्दै शक्तिशाली लोकपाल बनाएर भ्रष्टाचारको छानबिन गर्न आग्रह गरे । उनले आफूमाथि पनि छानबिन गर्न आग्रह गर्दै भने, ‘लौ हामीमाथि पनि छानबिन गरौँ, हिसिला र मलाई विभिन्न बहानामा आरोप लगाउने गरिएको छ । कतै केही बदमासी गरेको भए हामी जेल जान तयार छौँ ।’

भट्टराईले राज्यका हरेक निकायमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्या रहेको बताए । न्यायालयदेखि अख्तियारसम्मका निकाय सेटिङका आधारमा चल्ने गरेको समेत उनले दाबी गरे ।

महाधिवेशन उद्घाटनमा विभिन्न नयाँ दलका नेताले शुभकामना दिएका थिए । पुराना दलका नेतालाई भने बोलाइएको थिएन ।

आज सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ गते सकिने उक्त पार्टीले जनाएको छ । बन्दसत्रमा भट्टराईले राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

यो पनि पढ्नुहोस् :

नेसपा (नयाँ शक्ति) महाधिवेशन : नयाँ दल अतिथि, पुरानालाई छैन निम्तो (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved