छैटौं जनकपुर साहित्य महोत्सवको खर्च ४६ लाख ५० हजार, बचत भयाे २ लाख ५० हजार
अर्को संस्करण आगामी वर्षको माघ २२ देखि
नेपालभ्युज
default
जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी वर्ष २०८२ को माघ २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने घोषणा गरिएको छ ।
प्रतिनिधिसभाका सांसदसमेत रहेका महोत्सवका परिकल्पनाकार मनीष झाले यसको जानकारी दिएका हुन् । यस वर्षको महोत्सव शनिवार जानकपुरमा सकिएपछि उनले नयाँ मिति घोषणा गरेका थिए ।
यो महोत्सवले साहित्य, संस्कृति र समाजका विभिन्न पाटा समेट्दै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको सरोकारवालाहरूको भनाइ छ ।
यसपटकको महोत्सवलाई पनि विशेष कार्यक्रमहरू, चर्चित व्यक्तित्वहरूको सहभागिता र साहित्यिक संवादद्वारा समृद्ध बनाउने हरसम्भव प्रयासहरू गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्तासमेत रहेका झाले बताए ।
मनीष झा
महोत्सवको तयारीमा आर्थिक समस्या प्रमुख चुनौतीको रुपमा उभिएको उनको भनाइ थियो ।
‘जनकपुर साहित्य महोत्सवले नेपाली साहित्य र संस्कृति प्रवद्र्धन गर्न ठूलो योगदान पुर्याउँदै आएको छ । तर, यसको दीर्घकालीन सफलताका लागि सरकारी सहयोग र वित्तीय स्पष्टता अपरिहार्य छ,’ उनले भने ।
आयोजक नवमिथिला फाउन्डेसनले छैटौं जनकपुर साहित्य महोत्सवको आय–व्यय विवरण शनिवार कार्यक्रमस्थलमै सार्वजनिक गरेको थियो ।
फाउन्डेसनले उत्सवका लागि विभिन्न प्रायोजक तथा निकायहरूसँग कूल ४९ लाख रुपैयाँ संकलन गरेकोमा खर्च ४६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यस्तै २ लाख ५० हजार रुपैयाँ बचत भएको फान्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।
साहित्य महोत्सवले पहिलोपटक बचत गर्न सफल भएको फाउन्डेसनले जनाएको छ । यस वर्षको आयोजनका लागि साउन्ड सिस्टम र लाइटमा १२ लाख, स्टेज डेकोरेसनमा ३ लाख, प्रिइभेन्ट गतिविधिमा २ लाख, पुरस्कार वितरणमा ३ लाख ५० हजार, बसोबासको व्यवस्थापनमा ५ लाख, ट्राभलिङ्ग एन्ड टिकेटिङमा ५ लाख र गिफ्ट्स एन्ड ह्याम्परमा २ लाख ५० हजार खर्च भएको पाइएको छ ।
यसैगरी कलाकारहरूको शुल्कमा ३ लाख, खानामा ५ लाख, ब्रान्डिङ एन्ड मार्केटिङमा २ लाख र मिडिया तथा ब्रोडकास्टिङमा ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।
‘पारदर्शिता हाम्रो संस्थाको विशेषता हो । जनकपुर साहित्य महोत्सवको हिसाबकिताब हामीले सार्वजनिक गरेका छौं,’ फाउन्डेसनका उपाध्यक्ष नेपालले भने, ‘हामी पहिलोपटक यस महोत्सवमा २ लाख ५० हजार रुपैयाँको बचत गर्न सफल भएका छौं । यसले हाम्रो संस्थाको आर्थिक व्यवस्थापनको सुदृढतालाई पुष्टि गर्दछ ।’
Facebook Comment
Comment