अवैध अस्पतालमाथि मधेसका मुख्यमन्त्री सिंहको ‘एक्सन’, बन्द गर्न निर्देशन

अवैध अस्पतालमाथि मधेसका मुख्यमन्त्री सिंहको ‘एक्सन’, बन्द गर्न निर्देशन

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमाथि ‘एक्सन’ लिएका छन् । अस्पतालको भ्रमण गरी मुख्यमन्त्री सिंहले उक्त अवैध अस्पताल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएका हुन् ।

साथै उनले त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न पनि निर्देशन दिएका छन् ।

अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर हेलचेक्र्याइँ भएको खबर सार्वजनिक भएपछि शुक्रबार राति मुख्यमन्त्री सिंह अस्पताल अनुगमनमा पुगेका थिए । यसपछि उनले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिबार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएका हुन् ।

सञ्चालक आफैँले अस्पताल बन्द नगरे सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी पनि मुख्यमन्त्री सिंहले दिएका छन् ।

 

अस्पतालमा तीनजना बिरामी भर्ना भएकाे पाइएकाे थियाे । यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएकी सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीया बबिताकुमारी यादव अहिलेसम्म बेहोस अवस्थामा रहेको पाइएको छ । हाल उनी जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत छिन् ।

मुख्यमन्त्री सिंहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गरेका थिए । सोबेला सञ्चालकसँग भेट नहुँदा उनी त्यसै फर्किएका थिए । पहिलोपटकको अनुगमनमा जाँदा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सीएमएको भरमा अस्पताल सञ्चालन भएको पाएका थिए ।

दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए ।

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपर्युक्त भएको पाइएपछि उनी एक्सनमा उत्रिएका हुन् । ‘बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिबार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएको छु,’ उनले भने ।

सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पूरा गर्न मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दासमेत सञ्चालकहरूले अटेर गर्दैआएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved