काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडिओ तथा स्टाटस राखेर बैङ्क डुब्दैछ भनेर हल्ला फैलाउने व्यक्तिविरुद्ध बैङ्करहरू एकजुट भएका छन् ।
वाणिज्य बैङ्कहरूको छाता संस्था नेपाल बैङ्कर्स (एनबीए), विकास बैङ्कहरूको छाता संस्था डेभलपमेण्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले संयुक्त विज्ञप्ति जारी गरेर अराजक तथा गलत हल्ला फैलाउनेविरुद्ध प्रतिवादमा उत्रिएका हुन् ।
चार वटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको धारणा राखेका छन् ।
‘नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैङ्क तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैङ्कको सूक्ष्म निगरानी र सोको नीति/नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैङ्किङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
बैंंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comment
Comment