जनकपुरधाम । राजनीतिक विश्लेषक सीके लालले सियाराम राज्यको परिकल्पना गरेका छन् ।
जनकपुरधाममा बिहीबारदेखि सुरु भएको छैठौँ संस्करणको जनकपुर साहित्य महोत्सवको उद्घाटनमा सत्रका वक्ताको रुपमा रहेका उनले राम राज्य नभएर सियाराम राज्य भन्न सबैलाई आग्रह गरे ।
विश्लेषक लालले सियाराम राज्य केवल धार्मिक परिकल्पना मात्र नभई सामाजिक समानता र राजनीतिक समावेशिताको एउटा प्रतीक रहेको पनि बताए ।

‘सियाराम राज्यको परिकल्पना : साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो विचार प्रस्तुत गर्दै उनले भने, ’राम र सीताको साझा सत्ता र सहकार्य, सियाराम राज्यको मुल भाव हो । यसमा समावेशी शासन व्यवस्थाको परिकल्पना गरिन्छ ।’
महोत्सवमा आफूपछिका वक्ताहरूले साहित्यले राजनीतिलाई सुधार्ने, सम्हाल्ने र सही पथमा ल्याउने सहितको काम गर्ने गरेको बताए ।
मुख्य आकर्षण विद्यार्थीको सामूहिक गीत
नवमिथिला फाउन्डेसनको आयोजनामा सञ्चालित यस कार्यक्रमको मुख्य आकर्षणको रुपमा ६० जना विद्यार्थीले प्रस्तुत गरेको सामूहिक गीत रह्यो ।

‘इएह छी हमर जनकपुर, ई सीताके जनकपुर’ शीर्षकको गीतमा जनकपुरधामका १० विद्यालयका ५ वर्षदेखि १५ वर्ष उमेर समूहका छात्रछात्राले एकसाथ गीत प्रस्तुत गरेका थिए । यसले जनकपुरधामलाई गौरवका साथ गुञ्जायमान बनाएको थियो ।
उनीहरूले गीतमार्फत् जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गरेका थिए ।
साथै यहाँको समृद्ध सांस्कृतिक सम्पदा र सीताको जन्मभूमिको गौरवलाई पनि गीतमार्फत् उजागर गरेका थिए ।
महोत्सवमा विभिन्न विषयहरूमा संवाद, बहस र अन्तरक्रियाजस्ता कार्यक्रम रहेका छन् । यसका साथै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहेको छ । शनिबारसम्म चल्ने महोत्सवमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुनेछ ।
Facebook Comment
Comment