सन् २००४ को हिन्दी सिनेमा ‘स्वदेश’ व्यापारिक हिसाबले ‘फ्लप’ भयो, ‘किङ्ग खान’ भनेर चिनिने शाहरुख खानका बाबजुद । अहिले आएर ‘क्रिटिकल्ली अक्लेम्ड’ को दर्जा पाए पनि, उक्त सिनेमालाई दर्शकले नरुचाउनुका विभिन्न विश्लेषण गरिएका छन्, कसैकसैले ‘समयभन्दा निकै अगाडि’को भएकाले पनि भनेका छन् । तर, सायद उक्त सिनेमाको एउटा संवाद पनि फिल्म नचल्नुको कारक हुन सक्छ। जहाँ मोहन भार्गव (खान) भन्छन्, ‘म मान्दिन कि हाम्रो देश संसारको सबै भन्दा महान देश हो…’
आफ्नै देश सबै भन्दा राम्रो, महान अनि विशेष मान्ने प्रवृत्तिप्रति त्यो एक कटाक्ष थियो । हुन त पुरै सिनेमा नै एउटा सामाजिक टिप्पणी थियो, जुन चलिरहेको ‘बलिउड फर्मुला’ भन्दा फरक थियो । कथा विस्तृतमा भनी रहनु नपर्ला, तर सङ्क्षेपमा यो एक नागरिकको, जो विदेशमा सफल जागिरे छ, उसले आफ्नो मुलुकमा केही समय बिताउँदाको ‘सेल्फ-डिस्कभरी’ हो । सिनेमाको राम्रो पक्ष के पनि हो भने यो उपदेशात्मक पनि छैन, न यसले विदेशमा रहेकालाई फर्केर आउनै पर्छ भन्नेमा बल नै गर्छ ।
अहिले नेपालमा जोडतोडले बहस भइरहेको विषय हो विदेश गइरहेका नेपाली र साथै विदेशमा धेरै समयदेखि बसिरहेका नेपालीले देशलाई गर्नसक्ने योगदान, त्यसका लागि उनीहरूले चाहेको अधिकार र प्रबन्ध । नेपाली विदेश गइरहेका विषयमा त अनेकानेक लेख लेखिएका छन्, छलफल भएका छन् । कोही गलत हो भन्छन्, कोही संसारभरि नै आप्रवासन नौलो कुरो नभएकाले आत्तिनु पर्ने छैन भन्छन् । सबैका आआफ्नै तर्क छन् ।
मुख्य मुद्दा चाहिँ अन्तरविरोधको हो, र यसलाई सम्बोधन नगरेसम्म नेपालको सामाजिक – आर्थिक समस्याको समाधान मुस्किल नै होला ।
मोहन भार्गवको जस्तै ‘सेल्फ-डिस्कभरी’ अलि गह्रौं होला, तर नेपालमा पनि ‘स्वदेश’को चरणपुर गाउँका झैँ हुने खानेहरूलाई के लाग्छ भने—नेपाल संसारको सबैभन्दा राम्रो (महान) देश हो । ठिकै छ, तर फेरि यस्तो ‘महान’ देश छाडेर किन गैरहेका छन् त (माथि नै भनेँ, अध्ययन, काम, राम्रो अवसरको खोजीमा विदेश जानु कुनै समस्या नै हैन ) ? अनि फेरि चिन्ता पनि उनलाई नै बढी छ जसलाई देश ‘महान’ हुनुमा गर्व छ ।
त्यसकारण, सबैभन्दा पहिले त यो ‘महान’ भन्ने भ्रमबाट मुक्त हुनु अत्यन्त जरूरी छ । अब रह्यो कुरा राजनीतिको । आखिर तत्कालीन राजनीतिले न हो समाज र देशलाई निर्देशित गर्ने ।
ओलीलाई नै पछ्याउँदै अन्य नेताहरू पनि अब ‘महान’ सँग ‘समृद्धि’ मिसाएर एउटा घातक ‘ककटेल’ समाजमा बेच्दै छन् । पञ्चायतमा फुट्न नसकेको ‘विकासको मूल’लाई गणतन्त्रमा आएर राजनीतिज्ञहरूले ‘समृद्धि’को नाम दिएका छन्, जबकि उनीहरूको शासन गर्ने अभ्यास र चरित्रमा पुरापुर पञ्चायती गन्ध आउँछ ।
नेपालमा तीन दशक लामो एकतन्त्रीय पञ्चायती व्यवस्थाका कारण समाज बाहिरी संसारबाट टाढै रहनु र ‘एउटै देश, एउटै भेष’ भन्ने उग्र राष्ट्रवादबाट निर्देशित हुनुले जुन मिथ्या महानताको भाष्य समाजमा गाडिन पुग्यो, त्यो प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रमा आइपुग्दा पनि निरन्तर नै छ, समाजले २०४६ पछि खुलापनको अनुभव गर्न थालेपछि पनि । अहिले आएर केपी शर्मा ओलीजस्ता नेताहरूको उदय भएको छ, जो अझै पनि ‘हामी नै राम्रो र महान’ भन्ने भावनामा राजनीति गर्न चाहन्छन् ।
ओलीलाई नै पछ्याउँदै अन्य नेताहरू पनि अब ‘महान’ सँग ‘समृद्धि’ मिसाएर एउटा घातक ‘ककटेल’ समाजमा बेच्दै छन् । पञ्चायतमा फुट्न नसकेको ‘विकासको मूल’लाई गणतन्त्रमा आएर राजनीतिज्ञहरूले ‘समृद्धि’को नाम दिएका छन्, जबकि उनीहरूको शासन गर्ने अभ्यास र चरित्रमा पुरापुर पञ्चायती गन्ध आउँछ ।
अर्थशास्त्री तथा दार्शनिक अमर्त्य सेन भन्छन् समृद्धि तबसम्म एउटा खोक्रो उपलब्धि मात्र हुन्छ, सतहमा चम्किने तर भित्र चाहिँ एकदमै कमजोर, जबसम्म यसले गरीब र सीमान्तकृत वर्गको आवश्यकता पुरा गर्दैन र आम मानिस र समाजमा आफ्नोपन र आत्मियताको भावनाको विकास गर्दैन ।
समृद्धिको जति सुकै फूलबुट्टा भरिएको र जति ठूलो नारा लाए पनि आजको नेपाली राजनीतिले सेनले भनेका दुई आधारभूत विषयमा ध्यान भने पटक्कै पुर्याउन सकेको छैन । आज देशमा, पछिल्लो एक सर्वेक्षण अनुसार, सबै ‘ठिकठाक’ नै छ तर ‘राजनीति चाहिँ बिग्रेको मात्र हैन, बरु उल्टो दिशा तिर गइरहेको छ ‘ भन्नेले के देखाउँछ त ?
अधिकांश नेपालीलाई लाग्छ (थाहा छ) देशमा भ्रष्टाचार छ, अनि बढ्दो क्रममा छ, तर फेरि आफूले चाहिँ घुस खुवाएको अनुभव चाहिँ छैन । यसको त दुईवटा अर्थ हुने देखियो- पहिलो, आफू हैन, अरु सब खराब हुन् । दोश्रो, ‘सानोतिनो’ लेनदेन अब भ्रष्टाचारको श्रेणीमै पर्दैन र यो करोडौँ र अर्बौँमा हुन्छ । अनि यो क्लेप्टोक्रेट र उनीहरूको क्रोनी (राजनीतिका नाममा लुटतन्त्रमा लिप्त् राजनीतिज्ञ र तिनका आसेपासे) मा व्याप्त छ ।
हालैका दिनमा ‘सबै कहाँ बिग्रेको छ त’ भन्ने भाष्य पनि स्थापित गर्न खोजिएकै छ, जुन समाजमा आशाको सञ्चार गर्ने हेतुले ठिकै पनि होला । तर, वास्तविकतासँग करिब करिब पूर्णरूपले बेखबर र आम नागरिकसँग सम्बन्ध नै बिच्छेद गरिसकेका दल र नेताहरूका मुखबाट भने यस्ता विचार कृत्रिम मात्र हैन भद्दा सुनिन्छ ।
देश ‘बनाउने’ भाषण गरेर कहिल्यै नथाक्ने नेपाली दल र नेताहरूले नागरिकलाई कसरी बलियो बनाउने भन्ने विषयमा चिन्तन बिरलै गर्छन् । उनीहरुका लागि सत्ता नै अन्तिम सत्य भएको छ । र, उनीहरू सत्तामा पुगेपछि नागरिकप्रति जवाफदेही र उत्तरदायी पनि हुनुपर्छ भन्नेमा बेखबर झैँ छन् । त्यसैले त प्रश्न र आलोचनाबाट बच्न वाक् स्वतन्त्रता र प्रेसलाई पनि कुण्ठित गर्नेगरी सामाजिक सञ्जाल नियमनको नाममा कडा कानुन ल्याउने कुत्सित मनसायका साथ विधेयक तयार गर्छन् ।
‘स्वदेश’ सिनेमामा नायक मोहन (जुन अत्यन्त सुझबुझसाथ महात्मा गान्धीको जन्मनाम मोहनदास करमचन्दबाट राखिएको छ) ले गुनासोबाट माथि उठेर नागरिकले आफूले गर्नु पर्ने कर्तव्यका बारेमा पनि गाउँलेलाई झक्झकाउने प्रयास गर्छ, अनि आफ्नै प्रयासमा बिजुली नै उत्पादन गर्छ । तर, जे भने पनि त्यो त सिनेमा हो, जसमा अव्यावहारिक कल्पनाको उडान हुने नै भयो । यद्यपि, गान्धीवादी सन्देश भने अन्तर्निहित छ – यदि हामीले आफैँलाई परिवर्तन गर्न सक्यौँ भने संसारका (बाहिरी) प्रवृत्तिहरू पनि परिवर्तन हुनेछन् । यो पनि हो कि, गुनासो मात्र नगरेर आफूलाई पनि परिवर्तन गर्नुपर्छ भन्ने भावना सबैभन्दा पहिला नागरिकमा आफैँ आउनु पर्यो, नकी दल र नेताहरू र तिनका सीमित कार्यकर्ताले थोपरेको कारणले ।
अनि यो पनि हो कि नागरिकका परिवर्तनका चाहनालाई तत्कालीन सामाजिक व्यवस्था र राजनीतिले प्रतिरोध गर्नुको साटो सहजीकरण गर्नु पर्यो । सहजीकरणको साटो प्रतिरोध मात्र भइरह्यो भने त्यसलाई चिर्न निकै ठूलो शक्ति चाहिन्छ, जुन सामूहिक रूपमा मात्र सम्भव हुन्छ । आज नेपाली समाजलाई चाहिएको यही सामूहिक आत्मबल हो ।
देश ‘बनाउने’ भाषण गरेर कहिल्यै नथाक्ने नेपाली दल र नेताहरूले नागरिकलाई कसरी बलियो बनाउने भन्ने विषयमा चिन्तन बिरलै गर्छन् । उनीहरुका लागि सत्ता नै अन्तिम सत्य भएको छ । र, उनीहरू सत्तामा पुगेपछि नागरिकप्रति जवाफदेही र उत्तरदायी पनि हुनुपर्छ भन्नेमा बेखबर झैँ छन् । त्यसैले त प्रश्न र आलोचनाबाट बच्न वाक् स्वतन्त्रता र प्रेसलाई पनि कुण्ठित गर्नेगरी सामाजिक सञ्जाल नियमनको नाममा कडा कानुन ल्याउने कुत्सित मनसायका साथ विधेयक तयार गर्छन् ।
आम मानिसको परिवर्तनको चाहना तथा समय र प्रविधि सँगसँगै हिँड्न खोज्ने प्रयासलाई शासकहरूले जति रोक्न खोज्छन् त्यति नै उनीहरू नागरिकबाट टाढिँदै मात्र जाने हैनन् कि त्यति नै अस्वीकार्य हुँदै जान्छन् । जुन देश र जनताको नाममा नेपाली शासकले शासन गर्न खोजिरहेका छन् र गरिरहेका छन्; बुझ्न ढिला भइसक्यो कि उनीहरूका सतही भाषण अब मानिसले विश्वास गर्न छाडिसके । त्यसैले त उनीहरू ‘हामी महान’ को भ्रम समाजमा छर्ने प्रयास गर्दैछन् ।
आखिर देश भनेको नै जनता हुन्; सरकार, कर्मचारी वा नोकरशाह हैनन् । त्यसैले त हो संविधानको सुरुमै ‘हामी नेपाली जनता’ लेखिएको । जनताको अपमान गर्नु संविधानलाई कुल्चिनु हो । संविधानको सम्मान नगर्नु भनेको नागरिकमाथि अन्याय गर्नु हो ।
शासकहरू यदि साँच्चिकै देश र जनताप्रति उत्तरदायी छन् भने, त्यो त व्यवहारमा देखिनु पर्यो । ‘हामी महान छौँ तर पनि निराशा छ’ जस्ता बेतुकका भाषण र लफ्फाजीले मात्रै त अब चल्नेवाला छैन ।
नागरिकका सामाजिक, आर्थिक, राजनीतिक अधिकारप्रति असंवेदनशील हुनु आम मानिसमाथिको घोर अन्याय हो । अन्यायले सीमा नाघ्यो भने जुनसुकैबेला नागरिक जाग्छन्, अनि त्यसको नतिजा के हुनसक्छ भन्ने उदाहरण त संसार, छर छिमेकमै नदेखिएको हैन ।
Facebook Comment
Comment