धनगढी। नेकपा एमाले सुदूरपश्चिमले प्रदेश सदस्यसहित ५ जना नेतालाई निष्कासित गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्दै उनीहरुलाई निष्कासित गरेको हो ।
प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
निष्कासित हुनेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेको विज्ञप्तीमा जनाइएको छ ।
उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, प्रदेश सदस्य बिकले स्पष्टीकरण नदिएको, अन्य तीन जनालाई ३/३ महिनाका लागि निलम्बन गरिएकोमा रावलको अभियानमा संलग्न भएर पार्टी र नेतृत्वविरूद्व लागेको देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।
उनीहरूलाई प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा (१) बमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।
एमालेबाट केही समयअघि निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

Facebook Comment
Comment