टिप्पणी

आसन्न दिल्ली चुनावको राजनीतिक अर्थ

जुन पार्टीको आधार भ्रष्टाचार विरोधी आन्दोलन थियो, त्यसैलाई भाजपाले भ्रष्टाचारमा लिप्त् पार्टीका रुपमा चित्रण गरेर झड्का दिएको छ । तसर्थ, यसपटकको दिल्ली चुनावलाई केजरीवालको नाममा हुन गइरहेको जनमत सङ्ग्रह मान्न सकिन्छ ।

आसन्न दिल्ली चुनावको राजनीतिक अर्थ

दिल्लीको चुनावमा अरविन्द केजरीवालको साख दाउमा छ । आम आदमी पार्टी आपले चुनाव जित्यो नै भने पनि त्यति ठूलो खबर बन्ने छैन, जति हार्‍यो भने बन्ने छ ।

भाजपाले हरियाणा र महाराष्ट्रमा जितिसकेको छ । तसर्थ, भाजपा– विरोधी समूहहरूको यो धारणा छ कि केजरीवाल मन नपरे पनि दिल्ली भाजपाको हातमा जान दिनु हुँदैन । यदि भाजपाले दिल्लीको चुनाव जित्यो भने बिहार र उत्तर प्रदेशमा माहोल बनाउन उसलाई बलियो मञ्च प्राप्त हुने छ ।

यो ठानिएको छ कि दिल्लीमा काङ्ग्रेसले अलिअलि मेहनत पनि गरिरहेको छैन । किनकि भाजपालाई फाइदा हुने गरी काङ्ग्रेस ‘भोटकटुवा’ पार्टी बन्न चाहँदैन । स्वास्थ्यको कारण देखाएर राहुल गान्धी दिल्लीका दुई चुनावी सभामा गएनन् ।

धरातलीय राजनीतिक यथार्थको राम्रो सूचना राख्नेहरू भन्छन् काङ्ग्रेसले दिल्लीमा दलित र मुस्लिम समुदायको भोट विभाजन गर्दियो भने भाजपाको जित पक्कापक्की जस्तो हुन्छ ।

अरविन्द केजरीवाल ‘निशुल्क’ राजनीतिमा माहिर छन् । आज पनि उनको पक्षमा बलियो मुद्दा यही हो । उनी यही भनेर भोट मागिरहेका छन् कि झुपडपट्टीवाला गरिबले बिजुलीको बिल तिर्न परेको छैन । शहरका सरकारी बसमा महिला भाडा नतिरी सवारी गरिरहेका छन् ।

महङ्गी वृद्धि र रोजगार दुर्लभ हुँदा सरकारबाट पाइने निशुल्क सुविधा महत्त्वपूर्ण बन्न पुग्दछन् । केजरीवाल अहिले एक ठूलो सङ्घर्षको अवस्थामा छन् । तसर्थ अहिले उनी ससाना कदम चालेर ठूलो पार्टी बनाउनुको साटो ठूलो छलाङ मारेर सिधै राष्ट्रियस्तरमा आउन चाहन्छन् ।

केजरीवालको छवि अब हिजो जस्तो राम्रो छैन । करोडौँको लागतमा निर्माण भएको सरकारी निवास ‘शिश महल’ मा बसेको कारण पनि खराब भएको छ । भ्रष्टाचारका अनेक काण्डको कारण उनको पार्टीको छविलाई समेत नोक्सानी पुगेको छ ।

जुन पार्टीको आधार भ्रष्टाचार विरोधी आन्दोलन थियो, त्यसैलाई भाजपाले भ्रष्टाचारमा लिप्त् पार्टीका रुपमा चित्रण गरेर झड्का दिएको छ । तसर्थ, यसपटकको दिल्ली चुनावलाई केजरीवालको नाममा हुन गइरहेको जनमत सङ्ग्रह मान्न सकिन्छ ।

यो कुरा सम्झिन आवश्यक छ कि भाजपा र काङ्ग्रेसपछि देशमा दुई राज्यमा सरकार भएको पार्टी आम आदमी नै हो । यसले दिल्ली र पञ्जाबको सरकार चलाइरहेको छ । यसका बाबजुद अहिले दिल्लीमा आफ्नो शासन जोगाउन केजरीवाललाई हम्मेहम्मे परिरहेको छ ।

केजरीवाल अहिले प्रतिरक्षात्मक स्थितिमा त छन् नै, इन्डिया गठबन्धन तोडिएको कारण उनीसँग कुनै ठोस ‘लाइन’ पनि बाँकी छैन ।

भाजपा पक्षको अनुकूलता यो हो कि केजरीवाल ‘एन्टी इन्कम्बेन्सी’ सामना गर्दैछन् । जनताले उनलाई दुईदुई पटक भारी बहुमत दिए । तर, दिल्लीको स्थितिमा अपेक्षाकृत कमै सुधार भएको छ ।

जनताले ७० मा ६२ सिट र ५४ प्रतिशत भोट दिएर यो अपेक्षा गरेका थिए कि उनलाई जनताको अपेक्षा पूरा गर्न सजिलो होस्, आफ्ना प्रतिद्वन्द्वीसँग धेरै टकराउनु नै नपरोस् ।

सन् २०१५ मा नरेन्द्र मोदी र सन् २०२० मा अमित शाह आफैँले भाजपाको तर्फबाट दिल्लीको चुनावी मोर्चा सम्हालेका थिए । तर, भाजपालाई ती दुवै चुनावमा नराम्रो हार हात लागेको थियो । यसपटक पनि भाजपा जोडतोडले मेहनत गरिरहेको छ । यो कुनै आश्चर्यजनक कुरा पनि हैन ।

भाजपाका लागि अब दिल्लीको चुनाव जित्न निक्कै जरुरी भइसकेको छ । किनकि, केजरीवालले नागरिकलाई उपलब्ध गराएका ससाना सुविधालाई राष्ट्रियस्तरमा प्रचारित गरेर आफ्नो राजनीति अघि बढाइरहेका छन् ।

यो मुद्दाले भाजपालाई देशभरि हैरान बनाउँछ । भाजपालाई मात्र हैन, कोलकाता, मुम्बई र चेन्नाईको राजनीतिसमेत प्रभावित र हैरान हुन्छ । भाजपालाई केजरीवाल यसर्थ पनि अप्ठ्यारो हुन् कि जुनजुन बिन्दुमा विपक्षी नेता राहुल गान्धी राजनीति गर्न सक्दैनन्, तिनै सवाल केजरीवालले उठाई दिन्छन् । केजरीवालले भाजपामाथि सही निशाना लगाउँछन् ।

दिल्लीमा भाजपाको प्रचार संयन्त्र महाराष्ट्रमा जस्तो बलियो भने छैन । न त यहाँ भाजपासँग देवेन्द्र फडणवीसजस्तो कुनै अनुहार नै छ । भाजपाको चुनावी प्रचार नकारात्मक छ । भाजपाका उम्मेदवारबीच आन्तरिक टकराब पनि धेरै छ ।

तर, पनि भाजपाको निश्चय उसको चुनावी घोषणापत्रले झल्काउँछ । आपले गरिबलाई प्रतिमहिना २१०० रुपैयाँ दिने कुरा गर्दैछ भने भाजपा २५०० को वचन दिइरहेको छ । यस्तो लाग्छ कि भाजपा केजरीवाललाई हराउने शर्तमा कुनै सम्झौता गर्न तयार छैन ।

बितेको १२ वर्षको राजनीतिमा राष्ट्रियस्तरमा जनधारणामाझ मोदीलाई चुनौती दिनेमध्ये केजरीवाल सबैभन्दा माथि छन् । यदि भाजपाले दिल्लीमा जित हासिल गर्‍यो भने आपको मात्र हैन, देशका सबै साना र क्षेत्रीय दलको भविष्य अनिश्चित हुन पुग्ने छ ।

नागरिक सुविधाको मुद्दालाई पक्रिएर यति बलियो गरी आफ्नो राजनीतिक महल खडा गरेको आम आदमी पार्टी दिल्ली चुनावमा यदि भाजपाको अगाडि टिक्न सकेन भने राष्ट्रिय राजनीतिमा भाजपा लामो समयसम्म बलियो हुन सक्ने छ । बलियो भाजपा र कमजोर काङ्ग्रेस भएको राष्ट्रिय राजनीतिक परिदृष्य बन्नेछ ।

केजरीवालका १० वर्ष दिल्लीमा भाजपासँगको सङ्घर्षमै बितेका छन् । भाजपाले उनलाई दिल्लीमै अल्झाएर, फसाएर राखेको छ । केजरीवाल यो चक्रव्यूहबाट बाहिर निस्कन सक्छन् वा सक्दैनन्, दिल्लीको यो चुनावको नतिजाले धेरै हदसम्म निर्धारण गर्ने छ ।

(भाष्कर हिन्दीबाट अनूदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved