काठमाडौं । तेह्रथुम पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मर्निङवाकमा निस्किएका छन् ।
उनले मङ्गलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित चुहानडाँडामा मर्निङवाक गरेका हुन् । संयोगवश प्रचण्डले मर्निङवाक गरेको क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान इवा नजिकै पर्छ । चुहानडाँडा र इवा दुवै आठराई गाउँपालिकामा पर्छन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीचको सम्बन्ध भने चिसिएको छ । माओवादी केन्द्रलाई छोडेर एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाएपछि दुई नेताबीचको दूरी बढेको हो ।
मर्निङवाकको भिडिओ सामाजिक सञ्जालमा राख्दै पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘शुभ प्रभात ! पूर्वी नेपालको एक ऐतिहासिक गाउँ चुहानडाँडा तेह्रथुमबाट ।’
उनले ‘यही हो मेरो प्यारो नेपाल’ बोलको देशभक्तिपूर्ण गीतसहित मर्निङवाक गरिरहेको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
प्रचण्डले सोमबार लसुनेस्थित धनरुप स्मृति पार्कको उद्घाटन गरेका थिए ।
विगतका गल्तीको समीक्षा गर्न र पार्टीलाई २०६४ सालको अवस्थामा फर्काउन भन्दै पछिल्लो समय जिल्ला दौडाहामा रहेका उनी प्रायः मर्निङवाकमा निस्कने गरेका छन् ।
मर्निङवाकको भिडिओ :
Facebook Comment
Comment