काठमाडौं । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको रिट निवेदन खारेज गरेको छ ।
ललितपुर महानगरपालिकाले आफ्नो घर कम्पाउन्डमा अवैध रूपमा डोजर चलाएको भन्दै अमात्यले गत असार २६ गते रिट दायर गरेकी थिइन् ।
उक्त रिट गत बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।
अदालतले अमात्यले शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा हत्याउन खोजेको ठहर गरेको छ । साथै, महानगरले डोजर चलाउनु कानूनसम्मत भनेको छ । यससँगै महानगरलाई त्यो ठाउँ खाली गर्न बाटो खुलेको छ ।
आयुक्त भइसकेपछि अमात्य दम्पतीले ०७८ असोजमा चाकुपाटस्थित सरस्वती मन्दिर परिसरमा कम्पाउन्डसहितको घर किनेका थिए ।
झन्डै एक रोपनी जग्गासहितको घर किनिसकेपछि पुरानो पर्खाल भत्काएर कम्पाउन्डसँगै जोडिएको सरस्वती मन्दिर रहेको सार्वजनिक जग्गातर्फबाट गेट खोली बाटो बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीय गुठियारको उजुरीमा महानगरले डोजर चलाएको थियो ।
डोजर चलाएको प्रतिशोधमा अमात्यले महानगरका मेयर चिरिबाबु महर्जनलाई उजुरी परेको भन्दै पत्र थमाएकी थिइन् । पत्र लिएर बयान दिन आउन भन्दै अख्तियारको टोली पुल्चोकस्थित मेयर महर्जनको कार्यकक्ष पुगेको थियो ।
आफ्नो घरमा महानगरले डोजर चलाएपछि ‘प्रतिशोध साँध्दै’ आयुक्तले खोलिन् मेयरविरुद्ध बन्द भइसकेको फाइल
Facebook Comment
Comment