महाभारत जङ्गलको आगलागी हेलिकप्टरबाट नियन्त्रणमा

नेपालभ्युज

महाभारत जङ्गलको आगलागी हेलिकप्टरबाट नियन्त्रणमा

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको आगो हेलिकप्टरमार्फत नियन्त्रणमा लिइएको छ ।

गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले शुक्रबार बेथानचोक गाउँपालिकाको बस्ती नजिकको आगो नियन्त्रण गरेको हो ।

खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो ।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।

हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो ।

बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिए । उनका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रणभन्दा बाहिर गएको जनाउँदै आएको थियो ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट सुरू भएको आगोलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved