जनकपुरधाम । निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि धनुषा, महोत्तरीसँगै तराई–मधेसको जनजीवन कष्टकर बनेको छ ।
करिब एक सातादेखि घाम लाग्न सकेको छैन । रातदिन निरन्तर बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ ।
कठ्याङ्ग्रिने चिसोले विद्यालय जाने बालबालिका, कर्मचारी, किसान, मजदुरलगायत प्रभावित बनेका छन् । बाक्लो हुस्सु र तुुसारोमा बालबालिका कठ्याङ्ग्रिँदै विद्यालय जान बाध्य छन् ।
जाडो बिदा सकिएर यहाँका विद्यालय एक सातादेखि पुनः सञ्चालनमा आएकोमा अत्यधिक जाडो बढेपछि पठनपाठन सञ्चालन गर्नै समस्या परेको छ ।
चिसोले शिशु, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र शारीरिक अवस्था कमजोर रहेका मानिस बिरामी पर्न थालेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा जामुनप्रसाद सिंहले अधिकांशमा ज्वरो र रुघाखोकीको समस्या देखिएको बताए । शरीरमा चिसो गडेका मानिसलाई ज्वरो तथा रुघाखोकीले एक हप्तासम्म समस्या देखिने गरेको उनको भनाइ छ ।
घाम नलागेर निरन्तर तुसारो पर्दा गाईवस्तु तथा पन्क्षीलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । घाम नलागेर असाध्य चिसो हुँदा वस्तुुभाउलाई घाँस तथा आहारा जुटाउन समस्या परेको किसानले गुनासो गरेका छन् । चिसो बढ्दा सडक बजारमा मानिसको चहलपहल कम भएको छ ।
अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दासमेत पीडितलाई राहत प्रदान गर्न स्थानीय तहले बेवास्ता गरेको गुनासो छ । जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न सामाजिक संघसंस्था र मनकारी व्यक्तिले केही दलित तथा विपन्न बस्तीमा सिरक, कम्बल र न्यानो कपडा वितरण गरे पनि चिसो प्रभावित सबैमा यो पुग्न सकेको छैन ।

अधिकांश ठाउँमा घाम नलागेर चिसो बतास चल्ने गरेको छ । यसले गर्दा निम्न आयस्रोत भएका र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।
चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् । अत्यधिक चिसो बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् ।
बाक्लो हुस्सु र तुसारोका कारण पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारीसाधन दिउँसोसमेत बत्ती बालेर गुड्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालकलाई सवारीसाधन सञ्चालन गर्दा गति सीमित गर्न र बत्ती बालेर मात्रै सञ्चालन गर्न सचेत गराइरहेको छ ।
Facebook Comment
Comment