पीजीई समिटमा विज्ञहरूले भने – शून्य कार्बन हाम्रो दीर्घकालीन लक्ष्य हो

नेपालभ्युज

पीजीई समिटमा विज्ञहरूले भने – शून्य कार्बन हाम्रो दीर्घकालीन लक्ष्य हो

काठमाडौं । प्रोजिल ग्रीन इनर्जी समिट (पीजीई) २०२५ बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

पीजीई एक अग्रणी नवीकरणीय ऊर्जा क्षेत्र हो, जसले हरित प्रविधिको प्रयोग र ऊर्जा क्षेत्रलाई कार्बनमुक्त बनाउन समर्पित गर्ने काम गर्दै आएको छ ।

उक्त सम्मेलनमा पीजीई नेपालका टेक्नो कमर्सियल प्रमुख आकाश तारखलाले प्रस्तुतीकरण दिएका थिए । सो अवसरमा उनले पीजीईका परियोजनाहरू विस्तारयोग्य र अनुकूलनशील रहेको बताए ।

‘वायु, सौर्य र जलविद्युतजस्ता हाम्रा उन्नत परियोजनाहरूले कार्बन पदचिह्न घटाउँदै र ऊर्जा दक्षता बढाउँदै दिगो विकासमा योगदान पुर्याउने विश्वास दिइएको छ,’ उनले भने, ‘यी परियोजनाहरू विस्तारयोग्य र अनुकूलनशील छन्, जसले अहिले र भविष्यका ऊर्जा आवश्यकताहरूका लागि हरित ऊर्जा परिपूर्ति गर्न मद्दत पुर्याउँछन् । शून्य कार्बन हाम्रो दीर्घकालीन लक्ष्य हो ।’

पीजीईले नेपालमा सौर्य ऊर्जा परियोजनाहरूको विकास गर्न गोल्यान पावर लिमिटेडसँग एक रणनीतिक संयुक्त उद्यम सम्झौता गरेको छ । सम्झौतामा उनीहरूले हिमालय क्षेत्रका लागि दिगो समाधानहरूका प्रगति र ऊर्जा क्षेत्रलाई कार्बनमुक्त बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

टेक्नो कमर्सियल प्रमुख तारखलाले थपे, ‘हामी नेपालमा २४ महिनाभित्र ५०० मेगावाट सौर्य ऊर्जा पूर्वाधार विकास गर्ने लक्ष्यमा छौं ।’

कार्यक्रममा स्वतन्त्र पावर उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले सौर्य ऊर्जा प्रयोगको बढ्दो महत्वबारे प्रकाश पारेका थिए । ‘ यदि सरकार यसमा ध्यान केन्द्रित गर्छ भने अर्को वर्षसम्म हामीलाई अन्य देशहरूबाट ऊर्जा किन्ने आवश्यकता पर्दैन,’ उनले भने, ‘त्यसैले सरकारले यस क्षेत्रमा स्पष्ट कानुनी मार्गदर्शनका साथ तीव्र नतिजा दिने गरी साथ दिनुपर्छ ।’

सौर्य ऊर्जा विकास नेपालका अध्यक्ष डा सन्दीप शाहले पछिल्ला केही वर्षमा जलवायु परिवर्तनको प्रभावले हाइड्रोपावर परियोजनाहरू चल्न नसक्दा सौर्य ऊर्जा एक उत्कृष्ट वैकल्पिक स्रोतको रूपमा देखा परेको बताए ।

‘मलाई हाइड्रोपावरलाई ठीक लाग्छ । यो हाम्रा लागि उपयोगी पनि छ । तर पछिल्ला केही वर्षमा जलवायु परिवर्तनको प्रभावले हाइड्रोपावर परियोजनाहरू चल्न नसक्दा सौर्य ऊर्जा एक उत्कृष्ट वैकल्पिक स्रोतको रूपमा देखा परेको छ,’ उनले थपे, ‘नेपालले भारतबाट कोइला आधारित ऊर्जा आयात गरिरहेको छ, जसले जलवायु परिवर्तनलाई बढावा दिन्छ । हामी हाइड्रोसँग प्रतिस्पर्धा गर्दैछौं भन्ने होइन, बरु योसँग मिलेर हाइब्रिड बनाउँदै छौं, विशेषगरी सुक्खा मौसमका लागि हाइड्रो उपयोगी छ । तर यो मात्र समाधान होइन, किनकि जलवायु परिवर्तनले हिमनदीहरूमा गम्भीर असर पुर्याइरहेको छ । तर सूर्य सधैं रहनेछ ।’

सम्मेलनमा नेपालमा सौर्य ऊर्जा र दिगो ऊर्जा समाधानहरूको महत्त्वका बारेमा प्रकाश पारिएको थियो । यसका लागि आवश्यक कानुनी र नीतिगत सुधारहरूको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved