काठमाडौं । कोशी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले प्रदेश आमसञ्चार विधेयक र प्रदेश भवन ऐन संशोधन विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ ।
उनका अनुसार बैठकले प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने पनि निर्णय पनि गरेको छ ।
यस्तै बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश निजामती सेवाको ११औँ तहमा बढुवा हुनुभएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । यस्तै बैठकले भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ ।
बैठकले विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय पनि गरेको छ ।
बुधबार बसेको बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ ।
Facebook Comment
Comment