बागलुङ। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताएका हुन् । विगतमा जनताकाे गुमेकाे अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेकाे भन्दै अहिले प्राप्त अधिकारकाे रक्षाका लागि सुदृढ र एकताबद्ध कांग्रेस आवश्यक रहेकाेमा उपप्रधानमन्त्री सिंहले जाेड दिए ।
उनले अहिले कांग्रेस र एमालेबीचकाे सहकार्य स्थिर सरकार हाेस् भन्ने नागरिककाे चाहना र समयकाे मागअनुसार नै भएकाे प्रष्ट पारे । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढेकाे भन्दै उनले सहमति अनुसार नै कांग्रेस- एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे ।
‘गत चुनावपछि बनेका सरकारहरू लामाे समय टिकेनन् । स्थीर सरकार बनाेस् भन्ने जनचाहनाअनुरूपनै वर्तमान सरकार बनेकाे हाे,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा चुनाव हुन्छ ।’
उनले कांग्रेसकाे स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेकाे भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए ।
Facebook Comment
Comment