काठमाडौं । साना तथा मझौला कम्पनीहरूलाई आईपीओ जारी गर्ने बाटो खुलेको छ ।
बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१” जारी गर्दै साना कम्पनीहरूलाई सेयर निष्कासन गर्न पाउने बाटो खुलाइदिएको हो ।
उक्त नियमावलीमा टेकेर अब २५ करोड भन्दा कम पुँजी भएका कम्पनीहरूले आईपीओ जारी गरेर पुँजी वृद्धि गर्न सक्ने भएका छन् । त्यस्ता कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेर २५ करोडसम्म पुँजी वृद्धि गर्न सक्नेछन् ।
त्यस्ता कम्पनीहरूले पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयर निष्कासन गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तै, आईपीओ जारी गर्न पब्लिक कम्पनीको रूपमा एक आर्थिक वर्ष पुरा भएको हुनुपर्ने छ ।
यो बाहेक सो संस्थाले सेयर निष्कासन पूर्व धितोपत्रको पाँच प्रतिशत सोको निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरिसकेको अवस्थामा मात्रै सर्वसाधारणमा आईपीओ जारी गर्न पाउनेछ ।
अन्य सार्वजनिक कम्पनीहरू सरह यस्ता कम्पनीहरूले पनि आईपीओ जारी गर्नु पूर्व क्रेडिट रेटिङ गराउनुपर्नेछ । सोही आधारमा बोर्डले सेयर निष्कासनको अनुमति दिने व्यवस्था गरिएको हो ।
कम्पनीले निष्कासन गरेको आइपीओमा आवेदकले थोरैमा ५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । हाल धितोपत्र बजारमा आवेदकले न्यूनतम १० कित्ता सम्ममा आवेदन दिन पाउने व्यवस्था छ ।
Facebook Comment
Comment