विदेश जानेले ड्राइभिङ लाइसेन्स तत्कालै पाउने

नेपालभ्युज

विदेश जानेले ड्राइभिङ लाइसेन्स तत्कालै पाउने

काठमाडौं । सरकारले अत्यावश्यक चालक अनुमतिपत्र छपाईसम्बन्धी निर्देशिका २०८१ कार्यान्वयनमा ल्याएको छ ।

यातायात व्यवस्था विभागले भिसा र जब अप्लाईका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र तत्काल उपलब्ध गराउने भएको हो ।

‘वैदेशिक रोजगार, वैदेशिक अध्ययन, अन्तर्राष्ट्रिय शान्ति मिसन र कूटनीतिक नियोगमा खटिनुपर्ने पदाधिकारी लगायत चालक अनुमतिपत्र अत्यावश्यक भएका प्रचलित कानुन बमोजिम चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नागरिकलाई चालक अनुमतिपत्र अत्यावश्यक छपाई गरी उपलब्ध गराउन वाञ्छनीय भएकाले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिइएको अधिकार प्रयोग गरी विभागले यो निर्देशिका लागू गरेको छ,’ निर्देशिकामा भनिएको छ ।

विभागले कुनै नेपाली नागरिकलाई प्रवेशाज्ञा प्राप्त (भिसा अप्लाई) गर्न अत्यावश्यक भए तत्काल चालक अनुमतिपत्र छपाई गर्न सक्नेछ । निवेदकले भिसा अप्लाई गर्न चालक अनुमतिपत्र अत्यावश्यक भएको पुष्टि भएको कागजातसहित सम्बन्धित कन्सल्टेन्सी वा म्यानपावर कम्पनी वा स्पोन्सरबाट सिफारिस पत्र संलग्न गरी विभागसमक्ष आवेदन गर्नुपर्नेछ ।

यस्तै सरकारी तथा निजी क्षेत्रमा कुनै रोजगारीका लागि आवेदन (जब अप्लाई) गर्न सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा पेस गर्न माग भएको देखिएमा त्यस्तो क्षेत्रमा रोजगारको लागि निवेदन दिने व्यक्तिले तत्काल चालक अनुमतिपत्र पाउने भएका छन् ।

चालक अनुमतिपत्र अत्यावश्यक छपाईका लागि जब अप्लाईको फारम वा जब अप्लाईका लागि चालक अनुमतिपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कुरा पुष्टि हुने कागजात समेत संलग्न गरी विभागमा आवेदन गर्न सकिनेछ ।

सवारी चालक अनुमतिपत्रको फारम  वेबसाइटमा गई विभागसमक्ष अनलाइन आवेदन गर्न सकिनेछ । तर सर्भर डाउन लगायतका समस्या भएमा आवश्यक कागजात संलग्न गरी विभागसमक्ष आवेदन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

साथै विद्यालय अस्पताल सार्वजनिक निकायमा चालक अनुमतिपत्र अत्यावश्यक भएमा योग्य नागरिकले कार्यालयको सिफारिससहित चालक अनुमतिपत्र अत्यावश्यक छपाईका लागि आवेदन गर्न सक्ने व्यवस्था रहेको निर्देशिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved