टिप्पणी

ट्रम्पको ‘मजाक’ कमेडी होइन, त्रासदी हो

साना राष्ट्रहरूको अधिकार कुनै मजाक होइन । ठूलो छिमेकीद्वारा जबरजस्ती वा दबाब दिएर कुनै देश कब्जा गर्नु विश्व राजनीतिका लागि सबैभन्दा ठूलो चेतावनी हो । तर, ट्रम्पको धम्की अमेरिका एक दुष्ट राज्यको मार्चमा सामेल हुँदैछ भन्ने सङ्केत हो ।

ट्रम्पको ‘मजाक’ कमेडी होइन, त्रासदी हो

 “मलाई लाग्छ निर्वाचित राष्ट्रपतिले अलि रमाइलो गरिरहेका छन् ।”

यो अमेरिकाका लागि क्यानडाली राजदूतको प्रतिक्रिया हो, जब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको देशलाई ५१औं अमेरिकी राज्य बनाउने हास्यास्पद टिप्पणी गरेका थिए ।

खतरनाक “मजाक” ट्रम्पको मनपर्ने सञ्चारमाध्यममध्ये एक हो । तर, ट्रम्पले क्यानडालाई अमेरिकामा समावेश गर्ने आफ्नो महत्वाकाङ्क्षाबारे यति लामो समयसम्म बोलेका छन् कि क्यानडाली राजनीतिज्ञले यसलाई गम्भीरताका साथ लिनुपर्दछ र सार्वजनिक रूपमा अस्वीकार गर्नुपर्दछ ।

क्यानडालीहरूसँग झिनो सान्त्वना छ कि ट्रम्पले उनीहरूको देशमा आक्रमण गर्न अस्वीकार गरेका छन् । त्यसको सट्टामा उनले “आर्थिक शक्ति”को धम्की दिइरहेका छन् । तर, उनले पानामा नहर “फिर्ता” लिने र ग्रीनल्याण्ड कब्जा गर्ने आफ्नो महत्वाकाङ्क्षा हासिल गर्न सैन्य कारबाहीलाई भने नकारेका छैनन्, जबकि ती पानामा र डेनिसका स्वशासित क्षेत्र हुन् ।

जर्मनीका चान्सलर र फ्रान्सका विदेशमन्त्रीले ट्रम्पको धम्कीलाई गम्भीरताका साथ लिएका छन् । ग्रीनल्याण्ड ईयूको पारस्परिक रक्षा खण्डले कभर गरेको छ भनेर जवाफी चेतावनी दिएका छन् । अर्को शब्दमा भन्नुपर्दा ईयू र अमेरिका ग्रीनल्याण्डको विषयमा युद्धमा सामेल हुन सक्छन् ।

ट्रम्पका समर्थक र चाप्लुसहरूले यो सम्पूर्ण कुरा ठूलो मजाकको रूपमा लिइरहेका छन् । न्यूओर्क पोस्टले नयाँ ”डोनरो डोक्ट्रिन” घोषणा गर्‍यो — १९औं शताब्दीको सन्देश, जसले युरोपेलीहरूलाई पश्चिमी गोलार्द्धमा हस्तक्षेप नगर्न भनेको छ । र, ग्रीनल्याण्डलाई ‘हाम्रो भूमि’ भनेर पुनः लेबल गरेको छ । ब्राण्डन गिल, एक रिपब्लिकन काङ्ग्रेस सदस्य मुस्कुराउँदै भनिरहेका छन् – क्यानडाली, पानामाली र ग्रीनल्याण्डका बासिन्दालाई अमेरिकन बन्ने विचारमा ‘आदरित’ हुनुपर्छ । तर, साना राष्ट्रहरूको अधिकार कुनै मजाक होइन । कुनै ठूलो छिमेकीद्वारा जबरजस्ती वा दबाब दिएर कुनै देश भूमि कब्जा गर्नु विश्व राजनीतिका लागि सबैभन्दा ठूलो चेतावनी हो । तर, ट्रम्पको धम्की अमेरिका एक दुष्ट राज्यको मार्चमा सामेल हुँदैछ भन्ने सङ्केत हो । यसैकारण पश्चिमा गठबन्धनलाई रुसको प्रतिरोधमा युक्रेनको समर्थन गर्नु महत्वपूर्ण भएको थाहा पाएको थियो । यो नै कारण हो कि अमेरिकाले ९० को दशकको सुरुमा इराकलाई कुबेतबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गठबन्धनको आयोजना गरेको थियो । साना देशमा भएको आक्रमणले पहिलो र दोस्रो विश्वयुद्धको थालनी गरेको थियो । जब सन् १९१४ मा ब्रिटिश क्याबिनेट जर्मनीसँग युद्ध गर्नुपर्ने विषयमा दुःखित थियो । डेभिड ल्वायड जर्ज, जसले पछि प्रधानमन्त्रीको पद सम्हालेका थिए । उनले त्यसताका आफ्नी पत्नीलाई लेखेको पत्रमा भनिएको थियो – मैले शान्तिका लागि निकै सङ्घर्ष गरेको छु…तर म यो निष्कर्षमा पुगेको छु कि यदि बेल्जियमजस्तो सानो राष्ट्रमा जर्मनीले आक्रमण गर्‍यो भने हाम्रो सबै शक्ति युद्धको पक्षमा लाग्नेछन् ।ब्रिटेन र फ्रान्सले सन् १९३८ मा नाजी जर्मनीबाट चेकोस्लाभाकिया बचाउन अस्वीकार गरे । तर, एक वर्ष भित्रै उनीहरूले आफ्नो गल्ती स्वीकार गरे र पोल्याण्डलाई सुरक्षा ग्यारेन्टी दिए । जुन जर्मनीको आक्रमण सूचीमा अर्को सानो छिमेकी थियो । पछि पोल्याण्ड माथिको आक्रमणले द्वन्द्व सुरु गर्‍यो ।ट्रम्पका समर्थक उनको भाषण र विगत वा वर्तमानका आक्रमणकारीबीच कुनै तुलना गर्दा गम्भीर आपत्ति जनाउँछन् । उनीहरू यो तर्क गर्छन् कि ट्रम्पका माग वास्तवमा स्वतन्त्र विश्वलाई सुदृढ गर्ने उद्देश्यले चीन र सम्भवतः रूससँगको सङ्घर्षको लागि छन् । ट्रम्पले क्यानडा, ग्रीनल्याण्ड र पानामा प्रतिको आफ्नो विस्तारवादी आकाङ्क्षालाई राष्ट्रिय सुरक्षा आधारमा औचित्य दिएका छन् ।

अर्को तर्क यो छ कि ट्रम्पको बलजफ्ती केवल एक वार्तालाप रणनीति हो । उनका समर्थकले कहिलेकाहीँ भनिरहेका हुन्छन् कि उनी केवल मित्र राष्ट्रलाई दबाब दिँदै छन् ताकि उनीहरूले पश्चिमा गठबन्धनको ठूलो भलाइका लागि आवश्यक कदम चालुन् । र आखिरमा उनीहरू भन्छन्, के ग्रीनल्याण्डका ५५ हजार बासिन्दा डेनमार्कबाट स्वतन्त्रता चाहन्छन् ? के क्यानडालीहरू आफ्नो देश चलाउने असक्षम “वोक” अभिजात वर्गबाट थाकेका छैनन् ?

यी सबै कमजोर तर्क हुन् । ट्रम्पका लागि ग्रीनल्याण्डका बासिन्दालाई यसो भन्ने प्रयास गर्नु उचित हुने थियो कि उनीहरू अमेरिकन भएर राम्रो हुनेछन् । तर, सैनिक वा आर्थिक दबाब प्रयोग गर्ने धम्की दिनु अस्वीकार्य छ । क्यानडाली अमेरिकासँग जोडिन चाहन्छन् भन्ने उनको दाबी पनि भ्रान्ति हो । हालै एक सर्वेक्षणमा ८२ प्रतिशत क्यानडालीले यो विचार अस्वीकार गरेका छन् ।

यदि ट्रम्पले ग्रीनल्याण्ड वा पानामा नहर कब्जा गर्नु अमेरिकाको लागि रणनीतिक आवश्यकता हो भनी दाबी गर्न सक्छन् भने पुटिनले युक्रेनलाई नियन्त्रण गर्नु रुसको रणनीतिक आवश्यकता हो भनी दाबी गर्नु किन अवैध छ ? यदि गिलले आफ्नो सीमा विस्तार गर्न यो अमेरिकाको प्रकट नियति हो भनी दाबी गर्न सक्छन् भने सी चिनफिङले ताइवानलाई नियन्त्रण गर्न चीनको प्रकट गन्तव्य हो भनेर जिद्दी गर्दा कसले विरोध गर्न सक्छ ?

रूस र चीन दुवैले पश्चिमी गठबन्धनलाई भत्काउने सपना लामो समयदेखि देखिरहेका छन् । ट्रम्प उनीहरूका लागि काम गर्दैछन् ।

केही हप्ताअघि क्रेमलिनको कल्पनासम्म यो सोच्न सकिन्थ्यो कि क्यानडाको मुख्य समाचार पत्रिकाले “किन अमेरिका क्यानडालाई जित्न सक्दैन” शीर्षकमा एक कभर स्टोरी छापेको थियो । अमेरिकाविरुद्ध युरोपियन नेताहरूले ईयूको आपसी रक्षा धारा लागू गर्ने विचार—रूसको होइन—त्यो पनि कल्पना जस्तो लाग्थ्यो । तर, यी नयाँ वास्तविकता हुन् ।

ट्रम्पले आफ्नो धम्कीहरू पूरा नगरे पनि उनले अमेरिकाको विश्वव्यापी प्रतिष्ठा र यसको गठबन्धन प्रणालीमा पहिले नै विशाल क्षति पुर्‍याइ सकेका छन् । र, उनी अझै कार्यालयमा आएका छैनन् ।

यो असम्भावित जस्तो देखिँदैन कि ग्रीनल्याण्डमा आक्रमण गर्न ट्रम्पले आदेश दिन सक्नेछन् । (यद्यपि एक पटक यस्तो लाग्थ्यो कि उनले चुनाव उल्ट्याउने प्रयास गर्ने छैनन् ।)

क्यानडा आफ्नो स्वतन्त्रता छोड्नका लागि धम्कीबाट डराउने पनि सम्भावना कम छ । तर, नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय मापदण्डलाई च्यात्दै गरेको कुरा नै एक विनाश हो । ट्रम्पका “मजाक”मा हाँस्नु गलत हो । हामी जसको साक्षी बनिरहेका छौँ, त्यो एउटा त्रासदी हो, कमेडी होइन ।

-फाइनान्सियल टाइम्सबाट अनुदित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved