लस एन्जलस । अमेरिकाको लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन् ।
आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्थापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यसअघि करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू घर फर्किसकेका छन् ।
पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेकप्वाइन्टहरूमा लाइनहरू बनाएका छन् ।
‘धेरैजना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए,’ एक अमेरिकी अधिकारीले भने ।
कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक रहेको बताइएको छ ।
‘यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन,’ लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले पत्रकार सम्मेलनमा भने, ‘उनीहरू घर जान सक्दैनन्, किनभने अझै वस्तीहरू सुरक्षित छैनन् ।’
जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु आफूहरूको सामूहिक प्राथमिकता रहेको कारोनले बताए ।
‘यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन,’ बुधबारसम्म चल्ने तीव्र बतासलाई सङ्केत गर्दै उनले थपे, ‘कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौँ ।’
आफ्नो नाम जेनेल बताउने एउटी महिलाले आफ्नो घर आगोले जलेको थाहा पाएको तर प्रत्यक्ष नदेखेको बताउँदै आफ्नो दुःखले आर्जन गरेको सम्पत्तिको प्रत्यक्ष जानकारी लिन चाहेको बताइन् ।
उनले भनिन्, ‘“मैले फोटोहरू देखेको छु । भिडियोहरू पनि देखेको छु तर म यसलाई प्रत्यक्ष घटनास्थलमा पुगेर हेर्न र यसबारे मनमा रहेको आशालाई निर्मूल पार्न चाहन्छु ।’
सम्पादक हेनरी लेभिन्सन प्यासिफिक पालिसडेस छिमेकमा रहेको आफ्नो घर जाने कोसिस गरिरहेका छन् तर अग्निनियन्त्रकहरूले त्यहाँ जान रोकेका छन् । उनीहरूले अझै पनि हुरी लाग्न सक्ने र आगो फैलिन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् ।
लस एन्जलस सिटी काउन्सिलर ट्रेसी पार्कले प्रभावितको पीडा आफूले बुझेको तर अवस्था निकै खतरनाक रहेको बताए ।
‘यो कठिन निर्णय हो र मलाई यो थाहा छ कि मेरा धेरै साथी निराश छन्, तर सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहनुपर्छ,’ उनले भने ।
गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ ।
डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन्।
लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई सङ्केत गर्दै आफू मातहतका प्रहरी अधिकारीले मानिसहरूलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताए ।
उनले भने, ‘यीमध्ये धेरै क्षेत्र अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन् । विद्युत बगिरहेका बिजुलीका तार, ग्यास लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन ।’
Facebook Comment
Comment