काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रिफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।
निर्देशिकाकाअनुसार बिरामी अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।
विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भएपनि समग्र अस्पतालको रिफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीवन रक्षको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए ।
सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको हो ।
मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गए पछि बिना कुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौँ, उनले भने, अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापनसमेत गर्ने लक्ष्य छ ।
Facebook Comment
Comment