यथाशीघ्र संसद् बैठक बोलाउनुपर्छः सभापति खतिवडा

यथाशीघ्र संसद् बैठक बोलाउनुपर्छः सभापति खतिवडा
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेका बताए । सरकारले यथाशीघ्र संसद् बैठक आह्वान गर्ने उनले विश्वास व्यक्त गरे ।

सभापति खतिवडाले कतिपय विधेयकका बारेमा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको जनाउँदै एउटा संसद्पछि अर्को संसद् छ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक अवस्था अनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्नेमा जोड दिए ।

‘म सभापति रहेको समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकका बारेमा सरकारको कुनै धारणा आएको छैन, निजामति कर्मचारी उमेर ६० वर्ष राख्ने विषय छलफलका क्रममा रहेको छ, सरकारले ल्याएका कतिपय विधेयकलाई असहमति जनाउने संसद्को अधिकार हुन्छ’, उनले भने ।

सभापति खतिवडाले भने, ‘सरकारले सबैसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाइरहेकाले सरकारले चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने विश्वास लिएको छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved