काठमाडौं । यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले विश्वकपमा प्रतिस्पर्धा गर्न उत्साहित रहेको बताएकी छन् ।
बिदाईं कार्यक्रमपछि पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले मलेसियामा हुन लागेको यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्न टोली उत्साहित रहेको बताएकी हुन् ।
विश्वकपअगाडि टेस्ट राष्ट्र वेस्ट इन्डिज र बलियो टोली अमेरिकासँगको खेलले विश्वकपमा खेल्न सहयोग पुग्ने पूजाले बताइन् ।
उनले टोलीले आफ्नो आत्मविश्वास बढाएको बताइन् । ‘टोली निकै सपोर्टिभ भएकोले चुनौती महसुस भएको छैन,’ पूजाले भनिन् ।
खेलको दौरान आफूलाई रिस्क नलिन ज्योत्स्निका मरासेनीले सल्लाह दिएको उनले बताइन् । ‘दिदी हजुर रिस्क नलिनु, म लिन्छु । हजुर आउट भयो भने हाम्रो गेम सकिहाल्छ,’ यस्ता शब्द तथा सबै खेलाडीले कप्तानप्रति देखाएको विश्वासले आफूलाई थप आत्मविश्वास दिने र सकारात्मक उर्जा पाउने उनले बताइन् ।
उनले थपिन्, ‘टोलीको मनोबल निकै उच्च छ । जसरी एपीएफलाई हिजो हामीले पराजित गर्यौं, यसले जसरी क्याम्पको अन्त्य जितले गर्यौँ त्यसरी नै विश्वकपको अन्त्य पनि जितले गर्छौँ भन्ने विश्वास छ ।’
विश्वकपको यात्राबारे पूजाले भनिन्, ‘साँच्चै नै भन्नुपर्दा मलाई लाग्छ हामी सुपर-६ मा पुग्छौँ । ब्याटिङ, बलिङ, फिल्डिङ सबै रुपले सन्तुलित टोली छ । विश्वकपमा केही छाप छाड्छौँ ।’
पूजाले क्रिकेटमा प्रदर्शनको नै मुख्य भूमिका रहने बताइन् । ‘क्रिकेटमा ठूलो सानो भन्ने टोली हुँदैन । आफ्नो गेम देखाएपछि राम्रो क्रिकेट देखाएपछि जेपनि सम्भव हुन्छ,’ पूजाले भनिन् ।
आर्थिक अपेक्षाभन्दा पनि राम्रो क्रिकेट प्रदर्शन गर्नु नै टोलीको ध्यान केन्द्रित रहेको पूजाले बताइन् । उनले भनिन्, ‘आर्थिक अपेक्षाको आशा गरेका छैनौँ । पहिले पनि गरेका थिएनौँ । जति पायौँ यति प्राप्त हुन्छ भन्ने सोचेको पनि थिएनौँ । आयो भने ठिक छ नआए पनि केही छैन । देशको लागि खेल्ने हो । पैसा त हातको मैल जस्तै कुरा हो । कहिले आउँछ कहिले जान्छ । ’
यस्तै, मुख्य प्रशिक्षक महेश रिजालले राम्रो क्रिकेट प्रदर्शन गर्दै नेपालले क्रिकेटमा स्थापित राष्ट्रसमक्ष चुनौती प्रस्तुत गर्ने बताए ।
टोलीको पहिलो लक्ष्य दोस्रो चरणमा पुग्ने मुख्य प्रशिक्षक रिजालले बताए ।
विश्वकपअघि अभ्यास खेलमा वेस्ट इन्डिज र अमेरिकासँग जितको लागि नै खेले पनि मुख्यतः अभ्यासको अनुभवले विश्वकपको खेलहरुमा थप मद्दत पुग्ने विश्वास मुख्य प्रशिक्षक रिजालले व्यक्त गरे ।
विश्वकप खेल्ने यू-१९ महिला टोलीको बिदाई
Facebook Comment
Comment