काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय यू–१९ महिला क्रिकेट टोलीलाई बिदाई गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा क्यानले महिला यू–१९ टोलीलाई बिदाई गरेको हो ।
मुख्य प्रशिक्षक महेश रिजालले चुनौतीपूर्ण खेल प्रस्तुत गर्ने बताएका छन् ।
उनले भने, ‘हाम्रो टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । क्रिकेटमा स्थापित राष्ट्रहरुसमक्ष पनि चुनौतीपूर्ण क्रिकेटको पेस गर्नेछ । यो सहभागिता नेपाली क्रिकेटलाई नै अघि बढाउनको लागि निकै उपयोगी र फलदायी हुनेछ ।’
क्रिकेट खेल्ने परम्परालाई निरन्तरता दिने क्रममा मैदानभित्र र बाहिर कुनै कमी हुन नदिने रिजालले प्रतिबद्धता व्यक्त गरे ।
कप्तान पूजा महतोले विश्वकपमा आफ्नो टोलीले इतिहास रच्ने बताइन् । ‘यू–१९ महिला क्रिकेटले विश्वकपमा इतिहास रच्ने र राम्रो क्रिकेट प्रस्तुत गर्ने बताएका छन् । मलाई पूरै विश्वास छ कि हाम्रो टोलीले विश्वकपमा राम्रो छाप छाड्ने छ, ’ उनले बताइन् ।
यू–१९ टोलीको विश्व प्लेटफर्ममा आफ्नो क्षमता देखाउने लाग्दा सम्पूर्ण महिला खेलाडी नै गर्व महसुस गरिरहेको राष्ट्रिय महिला टोलीकी कप्तान इन्दू बर्माले बताइन् ।
नेपाली महिला क्रिकेट टोलीको महत्वपूर्ण हुने सचिव पारस खड्काले बताए । ‘धेरैले सोचेका पनि थिएनन् कि हाम्रो महिला यू–१९ टोलीले यति चाँडो विश्वकप खेल्ने छ, ’ सचिव खड्काले भने ।
उनले क्यानले चाहेर पनि कति सुविधा दिन नसकेको स्वीकारे ।
‘सन् २०२७ मा नेपाल आफैँ सह–आयोजक भएर विश्वकप आयोजना गर्दैछौँ । त्यही भएर पनि यो प्रतियोगिता नेपाली महिला क्रिकेटको लागि महत्वपूर्ण हुनेछ किन भने राष्ट्रिय महिला टोली र यू–१९ टोलीबीच देखिएको राम्रो समूहले भविष्यमा महिला क्रिकेटलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने ।
आफ्नो देशलाई संसारसामु चिनाउन यो प्रतियोगितालाई अवसरका रुपमा लिनु पनि उनले आग्रह गरे । कुनै दबाब महसुस नगरी राम्रो प्रदर्शन गरेर आउन पारसले बताए ।
टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शुभकामना दिए । साहस र धैर्यताको मिलनले यू–१९ टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास मन्त्री चौधरीले व्यक्त गरे ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा त्यसतर्फ जाने तालिका छ ।
टी–२० विश्वकपअघि यू–१९ महिला टोलीले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल पनि खेल्ने छ । नेपालले पुस २९ गते वेस्ट इन्डिज र माघ २ गते अमेरिकासँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
गत कात्तिकमा भएको एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलोपल्ट विश्वकपमा स्थान पक्का गरेको थियो ।
विश्वकपमा १६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछ । नेपाल अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै समूह ‘डी’ मा छ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नै क्यानले पूजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीः
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा ।
Facebook Comment
Comment