‘पृथ्वी जयन्ती’को निम्तो दिन लिङ्देन पुगे बालुवाटार, ओलीसँग लामो कुराकानी

नेपालभ्युज

‘पृथ्वी जयन्ती’को निम्तो दिन लिङ्देन पुगे बालुवाटार, ओलीसँग लामो कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न लिङ्देन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । यसको जानकारी लिङ्देनले शुक्रबार सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौष २७ गते (शनिबार) राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । त्यसैको निम्तो दिन आफू प्रधानमन्त्री निवास गएको लिङ्देनको भनाइ छ ।

भेटका क्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीसँग विविध पक्षबारे लामो कुराकानी भएको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले जानकारी दिएका छन् ।

‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो,’ उनले फेसबूकमा लेखेका छन्, ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो ।’

राजसंस्था पुनस्र्थापनाको वकालत गरिरहेको राप्रपाले हरेक वर्ष पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।

नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मदिवसका अवसरमा राप्रपाले यो दिवस मनाउँदै आएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ ।

यद्यपि, औपचारिक रुपमा भने सरकारले यो दिवस मनाउने गरेको छैन ।

पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडिओे सन्देश जारी गर्दै पृथ्वीनारायणले देखाएको बाटोमा हिँड्न सबैलाई आग्रह गरेका छन् ।

हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved