सुन्दरहरैँचामा फेला परेको सिलिन्डर बम सेनाले गर्‍यो ‘डिस्पोज’

नेपालभ्युज

सुन्दरहरैँचामा फेला परेको सिलिन्डर बम सेनाले गर्‍यो ‘डिस्पोज’

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुलनजिक राखिएको सिलिन्डर बम नेपाली सेनाले डिस्पोज (निष्क्रिय) गरेको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले बिहबिार बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो ।

पुलनजिकै माटोमुनि बम रहेको जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनले खोजतलास गर्दा पुल नजिक सुरुङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेलापरेको उल्लेख गरे ।

प्रहरीका अनुसार चारवटामध्ये दुईवटा सिलिन्डर बम तथा दुईवटा खाली सिलिन्डर रहेको पत्ता लागेको छ । विस्फोटक पदार्थ भरिएको दुईवटा सिलिन्डर बम भने सेनाको टोलीले यहाँ डिस्पोज गर्न सफल भएको छ । दुईवटा सिलिन्डर सेनाले लिएर गएको छ ।

लोकमार्गको दक्षिणतर्फ सुरुङ खनेर राखिएको बम द्वन्द्वकालीन भएको प्रहरी स्रोतले उल्लेख गरेको छ । बम डिस्पोज गर्ने क्रममा थर्किएर नजिकै रहेको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको छ । सेनाले बम निष्क्रिय पर्ने क्रममा पड्किँदा धेरै परसम्म ठूलो आवाज आएको थियो ।

यहाँ दिनभर सवारीसाधन तथा हिँडडुलका लागि लोकमार्ग बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था गरिएको थियो । बम राखिएको ठाउँ आसपास पूर्वपश्चिम एसियन हाइवे स्तरोन्नतिको काम हुँदैछ । करिब दुई दशकअघि तत्कालीन द्वन्द्वकालमा माटोमुनि राखिएको बम सूचना दिएर डिस्पोज गरिएकाले मानवीय क्षति हुनबाट बचेको नेकपा (माओवादी केन्द्र) सुन्दरहरैँचाका नगरअध्यक्ष दुष्यन्त भट्टराईले बताए । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved