जिप तोडफोड गर्ने विरुद्ध आपराधिक उपद्रव मुद्दा

नेपालभ्युज

जिप तोडफोड गर्ने विरुद्ध आपराधिक उपद्रव मुद्दा

खोटाङ । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बिपी राजमार्गअन्तर्गत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधबार तुवाचुङ मारातिका यातायात प्रालिको ना१ज ६१७२ नम्बरको जिप तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आपराधिक उपद्रव कसुरअन्तगर्तको मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

गाडी तोडफोड भएको घटनापछि सार्वजनिक भएको श्रव्यदृश्य तथा चालकले दिएको ठाडो उजुरीको आधारमा उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

“पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरिएको छ । मुद्दा दर्ता भए लगत्तै उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ”, उनले भने । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० का ३९ वर्षीय राजेश परियार, सोही नगरपालिकाको वडा नं ८ का २६ वर्षीय विजय तामाङ, महाभारता गाउँपालिका–३ का २६ वर्षीय छोइकु दोङ, तेमाल गाउँपालिका–७ का तेन्जिङ तामाङ, सोही ठाउँका १८ वर्षीय भिसान तामाङ, बेथानचोक गाउँपालिका–६ का २४ वर्षीय सुनिल तामाङ र रोशी गाउँपालिका–१२ का २२ वर्षीय आदेश स्याङ्तान रहेका छन् ।

यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ का २३ वर्षीय नरेन्द्र माझी र २४ वर्षीय सुनिल माझी, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ का २६ वर्षीय प्रेम श्रेष्ठ, दाङको घोराही उपमहानगरपालिका–११ का ३२ वर्षीय टेकबहादुर पुन, काभ्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर बताउने अन्दाजी २६ वर्षीय ब्राण्डेट लामा र तेमाल गाउँपालिका–५ का २६ वर्षीय युक्स तामाङ पनि पक्राउ परेका छन् ।

सार्वजनिक यातायातका सवारीसाधनमाथि तोडफोड गर्नेविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २८५ बमोजिम मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा दोषी ठहर भएमा तीन वर्षसम्म कैद सजाय र रु ३० हजारसम्म जरिवाना तथा बिगो बराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । जिप तोडफोडपछि फरार रहेका उनीहरुलाई गए राति विभिन्न ठाउँबाट पक्राउ गरेर सिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरी हिरासतमा राखिएका उनीहरुविरुद्ध जिपका चालक केवलबहादुर राईले शुक्रबार जाहेरी दिएका हुन् । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर हुँदै दिक्तेलबाट यात्रु लिएर काठमाडौँतर्फ गइरहेको जिप तोडफोड गरेपछि त्यसमा सवार यात्रुहरु बिचल्लीमा परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved