सुर्खेत । पश्चिम नेपालमा भूकम्पको यो लहरले त्रास र चनाखोपनको अवस्था सिर्जना गरेको छ । पछिल्ला १३ दिनभित्रै ७ पटक भूकम्पको धक्का महसुस गरिँदा स्थानीय बासिन्दा त्रसित छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका तथ्यांकअनुसार यी धक्काहरू पुस महिनाभित्र मात्रै भएका हुन् ।
भूकम्पका विवरणहरू:
पुस २ – बझाङ, धामेना आसपास, ४.३ म्याग्नेच्यूड।
पुस ३ – पुन: बझाङ, धामेना, ४.१ म्याग्नेच्यूड।
पुस ४ – मनाङ, ङिस्याङ, ४.७ म्याग्नेच्यूड।
पुस ६ – बाजुरा, ५.२ म्याग्नेच्यूड।
पुस ९ – दार्चुला, अपि हिमाल, ४ म्याग्नेच्यूड।
पुस ११ – जाजरकोट, नायकवाडा, ४.२ म्याग्नेच्यूड।
पुस १३ – कालिकोट, लाली, ३.७ म्याग्नेच्यूड।
बाजुरामा पुस ६ मा आएको ५.२ म्याग्नेच्यूडको भूकम्पले घर र संरचनामा क्षति पुर्याएको थियो । यसअघि पनि कात्तिक १७ मा जाजरकोटमा ६.४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा ठूलो क्षति पुगेको थियो ।
पश्चिम नेपालमा बारम्बार आउने यी भूकम्पले भौगोलिक अस्थिरतासँगै स्थानीयको मानसिक स्वास्थ्यमा समेत असर पुर्याइरहेको छ । पुनर्निर्माणका कामले गति लिन नसक्दा समुदाय अझ बढी जोखिममा छन् ।
भूकम्पविद्हरूले पश्चिम नेपाल उच्च जोखिममा रहेको भन्दै तयारी र सतर्कता अपनाउन आग्रह गरेका छन् ।
स्थानीय बासिन्दा भन्छन्, “हामीलाई प्रत्येक धक्का भूकम्पको ठूलो त्रासले घेर्छ। सरकारले तत्काल प्रभावकारी उपाय अवलम्बन गरोस् ।”
Facebook Comment
Comment