मकवानपुर गढी : जहाँ भगवान् कृष्णलाई बाँधेर राखिएको थियो (तस्वीरहरू)

मकवानपुर गढी : जहाँ भगवान् कृष्णलाई बाँधेर राखिएको थियो (तस्वीरहरू)

काठमाडौं । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण छ, मकवानपुर गढी ।

यो हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ ।

मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ ।

परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र भगवान् कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ ।

त्यही गुफाबाट भगवान् कृष्ण ओहोरदोहोर गर्थे भन्ने विश्वास गरिन्छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे ।

कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखेको किम्वदन्ती रहेको छ ।

सेन वंशका राजाहरूले १३औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ ।

सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।

मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठूलो गढी, सानो गढी र डुङ्गेगढी । ठूलोगढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठूलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमि उत्तर पूर्वमा ढुङ्गे गढी छन् ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved