रसुवागढी आयोजनाबाट विद्युत् उत्पादन सुरु

नेपालभ्युज

रसुवागढी आयोजनाबाट विद्युत् उत्पादन सुरु

रसुवा । रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको परीक्षण उत्पादन सफल भएको छ ।

गोसाईंकुण्ड गाउँपालिका वडा नं. १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको हो ।

उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीन वटा मेसिनबाट विद्युत् उत्पादन हुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए ।

तीनवटै युनिट चालु गराई सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनको भनाइ छ । सो आयोजनाको कूल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ ।

सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरु भएपनि विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा वर्षात्‌को समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीन वटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो ।

यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको सेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved