वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज र आइएफसीबीच साझेदारी

नेपालभ्युज

वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज र आइएफसीबीच साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग साझेदारी गरेको छ । ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गर्दै बैङ्कले वित्तीय दुरुपयोग समाधानको पहल थालेको हो ।

नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्ने विश्वास लिइएको छ ।

अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ ।

के हो वित्तीय दुरुपयोग ?

साधारण रूपमा पति–पत्नी, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोगलाई वित्तीय दुरुपयोग मानिन्छ ।

यसमा परिवारका सदस्यहरूको बैङ्क खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै, आफ्नो बैङ्क खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरू बाट आफ्नो लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनु जस्ता क्रियाकलापहरू पर्दछन् ।

यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको सङ्कट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

“वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्‍याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ ।’, आइएफसीका बङ्गलादेश, भुटान, र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने, ‘यसले बैङ्कलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउनेछ ।’

“यो साझेदारी बैङ्किङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महत्त्वपूर्ण कदम हो’, लक्ष्मी सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने ‘आइएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशितालाई पुनः परिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’

गत अगस्ट महिनामा आइएफसीद्वारा अस्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’ मा नेपाल, पपुआ न्यु गिनी, श्रीलङ्का, भानुआतु, र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन् । जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved