काठमाडौं । पोखरामा यही पुस १४ र १५ गते (डिसेम्बर २९–३०, २०२४) दोस्रो ड्रागन बोट फेस्टिभल आयोजना गरिने भएको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालमा हुने यो प्रतियोगितामा नेपाल र चीनका विभिन्न टिमको सहभागिता रहनेछ ।
ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसै गरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ ।
यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।
चिनियाँ नयाँ वर्षको उत्सवको अवसरमा हरेक वर्षको पाँचौँ महिनामा चीनमा आयोजना गरिने यो परम्परागत खेललाई नेपालमा पनि लोकप्रिय बनाउन फेस्टिभलको आयोजना हुँदै आइरहेको छ । यो प्रतियोगिताको पहिलो संस्करण असार २०८० मा पोखरामा सम्पन्न भएको थियो ।
Facebook Comment
Comment