मलेसियासँग पाँच वर्षको श्रम सम्झौता गर्न सरकार लागि परेको छ : मन्त्री भण्डारी

नेपालभ्युज

मलेसियासँग पाँच वर्षको श्रम सम्झौता गर्न सरकार लागि परेको छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मलेसियासँग पाँच वर्षको लागि श्रम सम्झौता गर्न सरकार लागि परिरहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई स्वरोजगारमूलक क्षेत्रमा लगानी गरी मुलुकको आर्थिक विकास गर्नुपर्ने बताए ।

“नेपालबाट रोजगारीका लागि विदेश जाने युवाहरू धेरै छन्, उनीहरूले निश्चित समयसम्म मात्र त्यहाँ काम गर्न पाउँछन्, त्यहाँ कमाएको सीप र पुँजीलाई नेपालमा ल्याएर प्रयोगमा ल्याउन सके मुलुकको आर्थिक विकासमा सहयोग  पुग्नेछ”, मन्त्री भण्डारीले भने ।

चर्को ब्याजदर लिएर विदेश जाने श्रमिकलाई लक्षित गरी सरकारले बिना धितो ऋणको व्यवस्था मिलाउन लागेको उनले बताए ।

विदेश जानुभन्दा पहिले लिनुपर्ने चर्को ब्याजदर र विदेश गएपछि अकालमा मृत्युवरण गर्नुपरेको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै श्रममन्त्री भण्डारीले सीप विकास गरी आधिकारिक निकायबाट मात्र वैदेशिक रोजगारीमा जान युवालाई आग्रह गरे ।

श्रम स्वीकृतिबिना अवैध रूपमा विदेश गएर समस्यामा परेका नेपालीको उक्त समस्या दीर्घकालीन समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे ।

श्रममन्त्री भण्डारीले हरेक स्थानीय तहसँग समन्वय गरेर त्यहाँभित्रका बेरोजगारीको अवस्था, स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्न रोजगारीका लागि युवा कुन देशमा गएका छन्, के सीप सिकेका छन् लगायत जानकारी लिन सुरु गरिसकेको बताए ।

वैदेशिक रोजगारीका क्रममा गएका श्रमिक मृत्यु भएमा दिइँदै आएको रकम सात लाखलाई बढाएर दश लाख रुपैयाँ बनाइएको मन्त्री भण्डारीले जानकारी दिए ।

“हामीले मुलुक खाली भयो, सम्पूर्ण युवा पलायन भए भनिरहेका छौँ, वैदेशिक रोजगारीमा गएका ७० लाखमध्ये ८० प्रतिशत श्रमिक खाडी मुलुक गएका छन्, उनीहरू सधैँका लागि गएका होइनन्, अवसरका लागि गएका हुन्”, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved