दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको जन्तीढुङ्गा संंरक्षणका लागि स्थानीय सरकारले पहल सुरु गरेको छ । त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेको तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनका अनुसार वडाले त्यसको संरक्षणका लागि चारैतिरबाट तारबार गरिसकेको छ ।
यसपटक पनि सो क्षेत्रको विकास गर्न वडाबाट केही रकम विनियोजन गरिएको वडाध्यक्ष पौडेलले बताए । यसैबीच सो क्षेत्रको बिहीबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थलगत निरीक्षण गरेका थिए ।
सो अवसरमा नगरप्रमुख खड्काले मानव उत्पत्तिका क्रममा मानव कङ्काल फेलापरेको तुही उपत्यकाभित्र पर्ने जन्तीढुङ्गाको संरक्षणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार बजेट व्यवस्थापन गरिने बताए ।
उनले यस क्षेत्रको बाघढुङ्गा, हात्तीढुङ्गा र जन्तीढुङ्गाको संरक्षण गरी यस क्षेत्रको पर्यटकीय केन्द्रका रूपमा विकास गरिने जानकारी दिए । वडा नम्बर १४ वडाध्यक्ष शङ्कर खड्काले जन्तीढुङ्गा क्षेत्रमा खानेपानी, विद्युत् विस्तार सुरु गरिएको बताए ।
जन्तीढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचारप्रसार गर्दै आएको उल्लेख गरे । पौराणिककालमा जन्ती जाने क्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्तीढुङ्गाका रूपमा प्रतीक रहेको भन्ने जनविश्वास रहेको छ ।
करिब एक बिघा क्षेत्रफलमा हजारौँ ढुङ्गा जोडिएर त्यहाँ रहेका छन् । –रासस–
Facebook Comment
Comment