काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र अत्यधिक रुपमा व्यावसायिक हेलिकप्टरको उडान अवतरणमा रोक लगाउने निर्णयबारे जानकारी गराएको हो ।
‘२५ गतेको बैठकले सगरमाथा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुने हेलिकप्टर उडान तथा अवतरण कार्यलाई व्यवस्थित गर्न पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरुबाहेक अन्य व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेबाट पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ’,पत्रमा भनिएको छ।
निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन ।
‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको बस्तीहरुमा अत्यधिक ध्वनि प्रदूषण समेत भएको छ,’ निर्णयमा भनिएको छ, ‘अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि समेत हुनसक्ने सम्भावना छ।’
हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ।
Facebook Comment
Comment