चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई चेतावनी दिँदै गलत गतिविधि सच्याएन भने सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्डले सडकबाट आन्दोलनको माध्यमबाट प्रतिवाद गर्ने बताए ।
उनले भने, ‘सदन र सडकबाट आन्दोलनको माध्यमबाट यसको प्रतिवाद गर्ने छौँ ।’
उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि नबढेको भन्दै संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्ने योजना बनाएको बताए ।
प्रचण्डले भने, ‘सरकारले त्रिभुवन विश्वविद्यालय र विद्युत प्राधिकरण जस्ता संस्थामा सुधारका लागि गरिएको प्रयासलाई समाप्त गरेर अराजकता निम्त्याउन खोजिरहेको छ। यस्तो प्रयास स्वीकार्य छैन।’
उनले यसका साथै, सरकारको उद्योगहरूलाई निजीकरण गर्ने योजनासँग पनि विरोध व्यक्त गरे ।
उनले थप भने, ‘प्रशासनका रुग्ण उद्योगहरूको पुनःसञ्चालनको तयारी गर्दा अहिलेको सरकारले सार्वजनिक उद्योगलाई बिक्री गर्न चाहेको छ, जुन जनताका लागि स्वीकार्य नहुने कुरा हो ।’
आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरू सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।
अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए ।
उनले भने ‘तपाईँ हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्न सक्छ । ’
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउँदै जाँदा बिचौलियाहरूले संसद्का पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनले स्पष्ट गरे ।
विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेन्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट गरे ।
उने भने– ‘विगतका सबै अनुभवबाट शिक्षा लिँदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको रुण रोप्ने काम गरिएको छ ।’
आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ३० हजार भन्दा कम ऋण लिएकाहरूको मोचन गरेको बताए ।
Facebook Comment
Comment