काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ चलिरहेको छ । आफ्नो कप्तानीमा रहेको टोली लुम्बिनी लायन्सको खराब प्रदर्शनका बाबजुद रोहितले भने गज्जबको ब्याटिङ गरिरहेका छन् ।
आज (मंगलबार) पनि कप्तान रोहितले चितवन राइनोजविरुद्धको खेलमा अर्धशतकीय पारी खेल्दै ५७ बलमा ८० रन बनाएका छन् । उनले ४ विकेटसमेत लिँदै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनीले आज चितवनलाई हराउँदै पहिलो जित निकालेको छ ।
यसअघि लुम्बिनीले ४ खेल खेल्दा सबैमा पराजय भोगेको थियो । उ आज बल्ल पहिलो जित निकाल्न सफल भएको छ । यसको बढी श्रेय प्लेयर अफ दी म्याच भएका कप्तान रोहितलाई नै जान्छ ।
आज ८० रन बनाएका रोहितले सर्वाधिक रन बनाउनेको सूचीमा अरुलाई धेरै पछि छोडेका छन् । उनले ५ खेलबाट २६१ रन बनाएका छन् ।
यसअघि रोहितले पोखरा एभेन्जर्सविरुद्ध शतकनजिक पुग्दै अविजित ९५ रन बनाएका थिए । यसैगरी उनले विराटनगर किंग्सविरुद्ध ४६, जनकपुर बोल्ट्सविरुद्ध ३५ र सुदूरपश्चिम रोयल्सविरुद्ध ५ रन बनाएका थिए ।
सूचीको दोस्रो स्थानमा इंग्ल्यान्डका रवि बोपारा उक्लिएका छन् । आज लुम्बिनीविरुद्ध १२ रन बनाएपछि उनले रन संख्या १६९ रन पुर्याएका छन् । चितवनबाट खेलिरहेका उनले जनकपुर बोल्ट्सका लहेरू मिलान्थालाई १ रनले पछि पारेका छन् ।
रनमा रोहितले फराकिलो अग्रता बनाइरहेका छन् । दोस्रो स्थानका रविभन्दा उनी ९२ रनले अघि छन् ।
दोस्रोबाट तेस्रो स्थानमा झरेका श्रीलंकन मूलका अमेरिकन यी खेलाडीले १६८ रन बनाएका छन् ।
यसैगरी चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले १४० रन बनाएका छन् ।
सूचीको पाँचौं स्थानमा भारतका चर्चित खेलाडी शिखर धवन छन् । उनले १३६ रन बनाएका छन् । जम्मा ४ खेल मात्र खेल्न आएका धवन घर फर्किसकेका छन् ।
Facebook Comment
Comment