काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोपपत्र दायर गरेको हो ।
सिलवालमाथि पटक/पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोप छ ।
उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए ।
तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।
उनले हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन बमोजिम जफत/असुल उपर हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
Facebook Comment
Comment