काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू समाजवाद निर्माणको अभियानमा निरन्तर लागिरहेको बताएका छन् ।
गोरखाको भीमोदय बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले सुशासन, सामाजिक न्याय, र समृद्धिको एजेन्डालाई समाजवादको आधारस्तम्भका रूपमा अघि बढाइरहेको बताएका हुन् ।
प्रचण्डले आफ्नो नेतृत्वका तीनवटा सरकारलाई फरक दृष्टिकोणले मूल्याङ्कन गर्दै भने, “पहिलो कार्यकालमा म मध्यपहाडी लोकमार्ग र गरीबको कृषि ऋण मिनाहजस्ता नवीन पहलमा केन्द्रित भएँ । दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने चुनौतीको सामना गरें । तेस्रो कार्यकालमा आर्थिक मन्दी र भ्रष्टाचारजस्ता चुनौतीका बीच सुशासन र समृद्धिको अभियानलाई बलियो बनाउने काम गरें ।”
उनले तेस्रो कार्यकालले विशेष महत्व राख्ने भन्दै समाजवाद निर्माणको ढोकासमेत खोल्न सक्षम भएको दाबी गरे । “म तेस्रोपटक प्रधानमन्त्री हुँदा देश निराशाजनक अवस्थामा थियो । तर, मैले सुरू गरेको अभियानले जनतालाई नयाँ आशा मात्रै दिएन, समाजवादको आधार निर्माणमा टेवा पुर्यायो,” प्रचण्डले भने ।
आरुघाट शिक्षणसँगको सम्बन्ध
कार्यक्रममा प्रचण्डले राजनीतिमा पूर्णकालीन रूपमा प्रवेश गर्नुअघि आफूले तीन वर्ष शिक्षकको रूपमा बिताएको स्मरण गरे ।
“आरुघाटमा म शिक्षक मात्र बनेको थिइनँ, मैले किसानका लागि प्रौढ कक्षा, कृषि आधुनिकीकरण, र सरसफाइ अभियान पनि चलाएँ । यसले मलाई जनतासँग प्रत्यक्ष जोडिन सहयोग गर्यो,” उनले स्मरण गरे ।
आरुघाटलाई आफ्नो जीवनको दिशा तय गर्ने आधारका रूपमा लिँदै उनले जनताका लागि काम गर्ने प्रेरणा त्यहीँबाट प्राप्त भएको बताए ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक संरचनालाई जोड दिँदै प्रचण्डले राष्ट्रिय एकता कायम गर्न समुदायहरूको पहिचान र संस्कृति संरक्षण अपरिहार्य भएको बताए । “हरेक समुदायको संस्कृति राष्ट्रिय सम्पदाको रूपमा स्थापित गर्न म निरन्तर लागिरहेको छु,” उनले भने ।
Facebook Comment
Comment