काठमाडौं । धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले नक्कली माओवादी बनेर चन्दा उठाएको आरोपबारे खण्डन गरेका छन् ।
आज बिहान धरानमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मोटरसाइकलको दुरुपयोग गर्दै अरूले चन्दा उठाएको हुनसक्ने तर आफू नभएको दाबी गरे ।
सम्पूर्ण राई र इन्द्र राई नाम गरेका साथीहरूले आफ्नो मोटरसाइकल लिएर जाने गरेको र त्यही मोटरसाइकल आफूले चढ्दा बाइसीएल कार्यकर्ताले झुक्किएर आफूमाथि दुव्र्यबहर गरेको साम्पाङको दाबी छ ।
उनले आफू ल्याङ्ग्वेज र कम्युटर टिचर हुँदा साथीहरूले आफ्नो मोटरसाइकल लगेर चन्दा माग्न गएका हुनसक्ने तर आफू नभएको बताए । मेरो बाइक चढेर साथीहरूले ‘चन्दा उठाए, दुर्व्यवहारमा चाहिँ म परेँ’ भन्ने उनको आशय छ ।
साम्पाङले भने,‘पहिला म ल्याङ्ग्वेज र कम्यूटर टिचर थिएँ । मैलै आफैँले ल्याङ्ग्वेज सेन्टर खोलेर म्यानेजर डाइरेक्टरको रुपमा काम गर्थे । माओवादी शान्ति वार्तामा आएर चुनाव सकिएको थियो । चैत वैशाखको समय थियो । जीतबहादुर लिम्बु उहाँ बितेर जानुभयो । सबैजनाको साथी हुन्छ । म खोटाङमा जन्मेको मान्छे । उतै एसएलसी गरेर आएको थिएँ । मेरो गाउँपारी बस्ने सम्पूर्ण राई, अहिले धरान १७ मा बस्नुहुन्छ उहाँ । उहाँ सँगै पढेको नजिकको साथी हुनुहुन्थ्यो । उहाँले इन्द्र राईसँग चिनजान गराइदिनुभयो । उहाँसँग भेट भयो । म यता पढाउँथे । उहाँहरू कहाँ जानुहुन्थ्यो, के गर्नुहुन्थ्यो मलाई थाहा थिएन । म ल्याङ्ग्वेज सेन्टरमा दिनभर हुन्थेँ । बाइक पार्किङमै हुन्थ्यो । उहाँ साथीहरूले बाइक सापटी लिएर जानुहुन्थ्यो । सम्पूर्ण राई र इन्द्र राईले मेरो बाइक चलाउँछु भनेर लिएर जानुहुन्थ्यो । साथीको नाताले माग्नुहुन्थ्यो, मैले दिन्थेँ । बिहान गएको बाइक बेलुका मात्र आउने स्थिति हुन्थ्यो । कहिले पेट्रोल सकिन्थ्यो । अनि मैले दिन छाडेँ । एक दिनको कुरा हो, धरान वाणिज्य बैंक जान्छु भन्नुभयो । बाइक लिएर गएर एकछिनमा ल्याइदिइहाल्छु सोल्टी भन्नुभयो । मैले चाहिँ मै पुराइदिन्छु भने । मैले पुराइदिन बाइक चलाएँ । फूल हेलमेट थियो । माओवादीले सबैतिर जनसरकार बनाएर बसेका थिए । बैंकमा पुगेपछि अरूले दुर्व्यवहार गरे । तँ सम्पूर्ण होइनस् भने । मैले हेलमेट खोलेर होइन भनेँ । अनि उनीहरूले ‘ए मिस्कटे भएछ’ भने । यो कुरालाई मैले बाहिर निकाले । पब्लिक स्कुलमा जनक ऋषि भन्ने रहेछन्, उनको दाइ माओवादी कमान्डर रहेछन् । त्यो बेलामा मैले भनेको थिएँ । मलाई सर्पाेट गर्ने कोही भएन । उहाँहरूको के लेनलेन थियो थाहा भएन । मेरो क्षमा पर्नेको छोरी लक्ष्मी राईसँग इन्द्रजीको केही लेनदेन थियो मलाई थाहा भएन । त्यो बैनी माओवादीमा लागेकी थिइन् । मलाई दुर्व्यवहार गर्ने वाइसीएलले मसँग माफी पनि मागेका थिए ।’
केही दिनअघि खोज पत्रकार केन्द्र खोपकेले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको कार्यशैलीबारे खोजी समाचार प्रकाशित गरेको थियो ।
समाचारमा साम्पाङले मेयर हुनुअघि नक्कली माओवादी बनेर चन्दा उठाएको र मेयर भएपछि पनि गैरकानूनी चन्दा सङ्कलन गरेको दाबी गरिएको थियो ।
खोजी समाचारमा साम्पाङको विगतमा चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंक नजिक पक्राउ परेको घटनाको विवरण पनि समावेश छ । माओवादी शिविरमा पुर्याएर उनलाई कुटपिट गरिएको प्रमाण माओवादीका तत्कालीन इन्चार्जले पुष्टि गरेको खोपकेले उल्लेख गरेको छ ।
नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई हर्क साम्पाङको धम्की
Facebook Comment
Comment