काठमाडौं । दक्षिण कोरियामा मार्शल ल लगाउने घोषणा गरिएको थियो तर, अब दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बुधबार बिहानै आपत्कालीन मार्शल ल हटाउने घोषणा गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले देशको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रपति युन सुक येओलले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विपक्षीलाई कडा निशाना बनाएका थिए । उनको तर्फबाट अहिले देशको विपक्षीले उत्तर कोरियासँग हात मिलाएर सहानुभूति देखाउन थालेको बताइएको छ । यसबीच के हो यो मार्शल ल ? यसमा के हुन्छ ? भन्ने जिज्ञासा बढेको छ । जानौँ –
मार्शल ल भनेको कुनै पनि देशमा सरकारले घोषणा गरेको न्यायिक व्यवस्था हो । यसमा सैन्य बलहरूलाई क्षेत्रको शासन र नियन्त्रण गर्ने अधिकार हुन्छ । सिंगो देशमा मार्शल ल लागू हुनु जरुरी हुँदैन । यो देशको कुनै पनि सानो भागमा लागू गर्न सकिन्छ र यसलाई सैन्य कानून पनि भनिन्छ ।
मार्शल ल किन हटाउनुपर्यो ?
योनहाप समाचार एजेन्सीका अनुसार राष्ट्रिय सभाले मार्शल ल अन्त्य गर्ने पक्षमा मतदान गरेपछि राष्ट्रपति येओलले यो निर्णय फिर्ता लिएका हुन् ।
युनको मन्त्रिपरिषद्ले मार्शल ल प्रवर्तन अन्त्य गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । तर, युनले करिब छ घण्टापछि मंगलबार मार्शल ल अर्डर हटाए ।
आपत्कालीन घोषणाले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा गम्भीर चासो पैदा गरेको छ, मानिसहरू सडकमा उत्रिए र सरकारविरुद्ध नारा लगाएका थिए ।
राष्ट्रपति येओलले मंगलबार राति देशमा आपत्कालीन मार्शल लको घोषणा गरेका थिए, जसले सिंगो देशलाई स्तब्ध बनाएको थियो र त्यसपछि सैनिकहरूले संसद्मा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, तत्कालै सांसद र आन्दोलनकारीको विरोधपछि सभामुखले यसलाई अमान्य घोषणा गरेका थिए ।
मार्शल कानून सामान्यतया घोषणा तब गरिन्छ, जब सरकारले व्यापक नागरिक अशान्ति, प्राकृतिक प्रकोप, वा आक्रमणको धम्कीको सामना गर्दछ ।
दक्षिण कोरियामा पछिल्लो पटक सन् १९८० को दशकमा राजनीतिक उथलपुथलको समयमा मार्शल ल लागू गरिएको थियो । ग्वाङ्जु विद्रोह सरकारको विरोधको सामना गर्ने समयमा भएको थियो । देशसँग बलियो कानूनी ढाँचा र सैन्य तयारी छ तर, मार्शल ललाई सधैं अन्तिम विकल्प मानिन्छ ।
फेरि किन लगाइयो मार्शल ल ?
प्राप्तजानकारी अनुसार दक्षिण कोरियामा यस वर्षको सुरुमा भएको राष्ट्रिय सभाको निर्वाचनले विपक्षीलाई ठूलो जनादेश दिएको थियो । यस्तो अवस्थामा राष्ट्रपति युनसँग धेरै शक्ति रहेन र कानून पारित गर्न सफल भएनन् ।
राष्ट्रपति यूनले बिलहरू भिटो गर्न बाध्य भए । यति मात्र होइन, राष्ट्रपति युन र उनकी श्रीमतीको काण्डका कारण पनि रेटिङमा लगातार गिरावट आएको छ । युनकी श्रीमतीलाई पनि स्टक हेरफेरको आरोप लगाइएको छ र विपक्षीहरूले अनुसन्धानको माग गर्न थालेका थिए ।
एएफपी रिपोर्टका अनुसार कोरियाली नेतृत्वको विपक्षी डेमोक्र्याटिक पार्टीले शक्तिको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति युनलाई महाभियोग लगाउन माग गरेको एक महिनापछि मार्शल ल लागू भएको हो । विपक्षीहरुले राष्ट्रपतिले मार्शल ल लगाएर महाभियोगबाट बच्न चाहेको बताएका छन् ।
बुधबार मध्यरातमा सांसदहरुले यो आदेश खारेजको पक्षमा मतदान गरेका थिए । दक्षिण कोरियाको कानूनअनुसार संसद्ले बहुमतको माग गरेमा राष्ट्रपतिले तत्काल मार्शल ल हटाउनुपर्छ ।
मार्शल ल लागू भएपछि के प्रतिबन्धित हुन्छ ?
- सांसदलाई संसद् भवन प्रवेशमा रोक लगाइन्छ,
- सबै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइन्छ,
- राजनीतिक प्रकृतिका आन्दोलन र सार्वजनिक जमघटमा पनि प्रतिबन्ध लगाइन्छ,
- सबै मिडिया र प्रशासन सैन्य नियन्त्रणमा जान्छ,
- देशमा हड्ताल र हिँडडुलमा प्रतिबन्ध लगाइन्छ,
- यात्रामा प्रतिबन्ध हुन्छ, देशभित्र आवागमन नियन्त्रण गर्न सैन्य चौकीहरू स्थापना गरिन्छ ।
राष्ट्रपतिलाई हटाउने तयारी
यो कदमले युनको आफ्नै कन्जरभेटिभ पार्टीका नेता हान डोङ-हुनलगायत पार्टी र विपक्षी दुवैका राजनीतिज्ञहरूबाट विरोध गरेको छ ।
हुनले उक्त निर्णयलाई गलत भन्दै यसलाई रोक्न जनतासँग मिलेर काम गर्ने वाचा गरेका छन् । विपक्षी नेता ली जे म्युङले युनको घोषणालाई ‘अवैध र असंवैधानिक’ भनेका छन् ।
विपक्षीहरुले राष्ट्रपतिले राजीनामा नदिए महाभियोगको प्रक्रिया सुरु गर्ने बताएका छन् ।
सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा ली जे म्युङ युनसँग थोरै मतान्तरले पराजित भए । हालै देशमा युनको लोकप्रियतामा गिरावट आएको छ । राष्ट्रपतिले २०२२ मा पदभार ग्रहण गरेदेखि विपक्षमा आफ्नो नेतृत्व कायम राख्न संघर्ष गर्दै आएका छन् ।
Facebook Comment
Comment