काठमाडौं । नेपालमा उद्योगी\व्यवसायी, बैंकरलगायतलाई फोनमार्फत् ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिले कबोलअनुसारको पुरा रकम नपाएको गुनासो गरेका छन् ।
‘भाइरल म्यान’ दुर्गा प्रसाईंको निर्देशनमा उक्त काम गरेको प्रहरी बयानमा खुलाएका झापा, चारआलीका नवीन प्रधान भनिने ३६ वर्षीय हरिचन्द्र फुयाँलले पाँच लाख रुपैयाँ मात्रै पाएको बयान दिएका छन् ।
प्रसाईंको निर्देशनमा उक्त काम गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
प्रसाईंपनि अहिले साइबर अपराधमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले भारतीय ‘आपराधिक समूह’ लरेन्स बिस्नोईका नाममा सहयोगीमार्फत बैंकर र व्यवसायीलाई धम्की दिन फुयाँललाई प्रयोग गरेको खुलेको छ ।
फुयाँललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापा चारआलीबाटै पक्राउ गरी काठमाडौं ल्याएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा फुयाँलले प्रसाईंको निर्देशनमा ‘लरेन्स बिस्नोई समूहको सदस्य हुँ’ भन्दै बैंकर र व्यवसायीलाई फोनमार्फत धम्की दिएको स्वीकार गरेका सीआइबी स्रोतले जनाएको छ ।
फुयाँलको भारतका पानीट्यांकीमा डेरी पसल रहेको खुलेको छ । उनले आसाम र पानीट्यांकी क्षेत्रमा पुगेर धम्की दिने गरेको भेटिएको छ ।
प्रसाईं र फुयाँलको बिस्नोई समूहसँग सम्बन्ध रहेको प्रमाण भने फेला परेको छैन ।
सीआईबीका अनुसार प्रसाईँ र फुयालबीच पुरानै चिनजान हो । फुयाँल यसअगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार थिए ।
फुयाँलको भिभो र रेडमी कम्पनीका मोबाइलमा भौचरको फोटो भेटिएको छ । जसमा धम्की कलका लागि ‘सुपारी’ बापत फुयाँललाई प्रसाईंले पाँच लाख रुपैयाँ पठाएका थिए । पहिला मौखिक रुपमा तोकिएको कतिपय रकम प्रसाईंले दिई नसकेको फुयाँलले बयान दिएका छन् ।
फुयाँलले व्यवसायी र बैंकरलाई ‘दुर्गा प्रसाईँसँग माफी माग्न र सहयोग गर्न’ भनेर धम्की दिने गरेका थिए । सहयोग नगरे र प्रसाईँसँग माफी नमागे ज्यान माग्नेसम्मको धम्की दिने गरेको भन्दै केही व्यवसायी र बैंकर सीआईबी पुगेका थिए ।
प्रसाईंले केही उद्योगी\व्यवसायी र बैंकरको नामै किटेर सार्वजनिक रूपमै धम्की पनि दिँदै आएका थिए ।
Facebook Comment
Comment