चार सय केभी बाह्रबिसे सबस्टेसनको निर्माण प्रगति ७० प्रतिशत 

नेपालभ्युज

चार सय केभी बाह्रबिसे सबस्टेसनको निर्माण प्रगति ७० प्रतिशत 

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सुदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो ।

सोही स्थानमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरू राख्ने सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरू रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणहरूको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माण स्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरूको विद्युत् यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती ४०० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ ।’

उनले थपे, ‘हिउँदयामका खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रुत गतिमा अगाडि बढाऔं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved